अखबारपत्र : काठमाडाैं, मङ्सिर ६। निजगढ विमानस्थलको गुरुयोजना निर्माण गर्ने जिम्मेवारी सिजी इन्फ्राटा-बीडीए जेभी कम्पनीले पाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले टेन्डरमा सहभागी भएकामध्ये सबैभन्दा कम रकम कबोल गर्ने र प्राविधिक रुपमा बलियो देखिएको कम्पनी सिजी इन्फ्राटा/बिडिए जेभीलाई दिने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार लेटर अफ इन्टेन्ट जारी गर्दै निजगढ विमानस्थलको गुरुयोजना निर्माणको परामर्शदाताको टुंगो लागेको जानकारी गराएको छ । प्रधिकरणले ३० करोड रुपैयाँको लागतमा गुरुयोजना बनाउने जिम्मा सो कम्पनीलाई दिएको हो।
गुरु योजना निर्माणमा १ दर्जन कम्पनी आशयपत्र हालेकोको ६ वटा कम्पनीको सर्ट लिस्टिङ गरिएको थियो । त्यसमध्ये सिजी इन्फ्राटालाई छनोट गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो कम्पनीलाई २९ करोड ८९ लाख रुपैयाँमा गुरुयोजना निर्माणको जिम्मा दिइएको हो ।
केही महिनाअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गुरुयोजना निर्माणका लागि कम्पनी छनोटको टुंगो लगाउन प्राधिकरणलाई निर्देशन दिएका थिए।
प्राधिकरणले शुक्रबार नै भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको साविकको धावनमार्गलाई समानान्तर ट्याक्सीवे बनाउन आवश्यक डिजाइन तथा सुपरभिजनका लागि पनि परामर्शदाता छनोट गरेको छ ।
कुल २४ करोड ४० रुपैयाँमा परामर्श सेवा उपलब्ध गराउने गरी सिंगापुरको मिन्हार्ट लिमिटेड छनोट गरिएको हो ।