अखबारपत्र: काठमाडौं, पुस १८।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनको घोषणा गर्ने तयारी प्रचण्ड–नेपाल पक्षले गरेको हो।
प्रचण्ड–नेपाल पक्षले पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
यसअघि नै दोस्रो चरणको आन्दोलन घोषणाको तयारी गरको यो समूहले नेपाली कांग्रेस र जसपाको साथ लिएर संयुक्त आन्दोलन गर्ने भन्दै समय लिएको थियो।
तर जसपा र कांग्रेसले स्पष्ट साथ नदिएपछि एक्लै आन्दोलन गर्ने रणनीति प्रचण्ड–नेपाल समूहले लिएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेस र जसपासँग आन्दोलनमा सहकार्यका लागि पहल भइरहेको तर त्यसबारे टुंगो लागि नसकेको बताए।
आन्दोलनको कार्यक्रमतालिका अनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । साथै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति पनि गठन गरिनेछ ।
त्यसैगरी पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
यस्तै माघ २२ गते देशव्यापी मसालजुलुस गरिनेछ भने माघ २३ गते नागरिक समाजसँग अन्तरक्रिया गरिनेछ भने २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइनेछ ।
पुस २६ गते सडक संविधान बाचन–ब्याख्या कार्यक्रम गरिनुका साथै पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्नेलगायतका विरोधका कार्यक्रम राखिएको छ ।
यसैगरी पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा मोटरसाइकल र्याली निकालिने छ ।
यस्तै माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा राखिएको छ भने २२ गते देशव्यापी मसालजुलुस गरिनेछ भने माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिनेछ ।
यसअघि प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै प्रचण्ड–नेपाल पक्षले ओलीको ‘असंवैधानिक’ कदम नसच्चिँदासम्म चरणवद्ध रुपमा देशव्यापी आन्दोलन गर्ने स्पष्ट पारेको छ ।