अखबारपत्र:काठमाडौँ, मङ्सिर २१ ।नेकपा उपाध्यक्ष एंव पूर्वउपप्रधानमन्त्री वामदेव गौतमको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहानै सामाजिक सञ्जालमा प्रहार गरेका छन्।
वामदेवबारे धेरै कुरा बताउने अर्थमा थापाले क्याप्सन मा लेखेका छन को कस्तो ? तस्बिर काफी छ !
केही वर्ष अघि सडकमा डिभाइडर नाघ्दै गरेको उक्त तस्बिर सामाजिक सञ्जालमा तत्कालिन समयमा भाइरल भएको तस्बिर हो । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले उपाध्यक्षको त्यस्तो फोटो राखेपछि सामाजिक सञ्जालमा उक्त विषयमा चर्चा भइरहेको छ।
थापाले राखेको फोटोको कमेन्टमा उनलाई गाली गर्नेहरू धेरै छन् भने वामदेव शैलीको विरोध गर्नेहरू पनि छन्।
शुक्रबारको सचिवालय बैठकमा वामदेवले थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट हटाउन माग गरेका थिए।
यसअघि पनि उनले पटक(पटक थापालाई हटाउनु पर्ने माग राख्दै आएका थिए।
गौतम र थापा दुबै प्युठानका हुन्। उनीहरूबीचको सम्बन्ध २०७४ को निर्वाचनपछि बिग्रिएको हो।
२०७४ को निर्वाचनमा आफू बर्दिया क्षेत्र नम्बर १ बाट पराजित हुनुमा थापा पनि जिम्मेवार रहेको भन्दै वामदेवले पार्टी कार्यालयमा उजुरी नै दिएका थिए। काठमाडौंमा बसेर आफ्नाविरूद्ध बर्दियाका कार्यकर्ता भड्काएको उनको आरोप थियो।
थापाले फेसबुकमा राखेको फोटो सुशील कोइराला नेतृत्वको सरकारमा वामदेव उपप्रधानमन्त्री एवम् गृहमन्त्री हुँदा नयाँ पत्रिकामा प्रकाशित भएको थियो।
रत्नपार्कमा डिभाइडर नाघ्दै गर्दा खिचेको फोटो प्रकाशित भएपछि वामदेवको शैलीबारे त्यतिबेला पनि चर्चा भएको थियो।