काठमाडौं – दुई वर्षअघि साउन १९ गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले आजको दिन सम्म आइपुग्दा न्याय पाउन सकेकी छैनन् । निर्मला र उनको परिवारलाई न्याय दिलाउन थुप्रै आन्दोलन भए, जुलुस निस्किए तर, घटना घटेको दुई वर्ष बितिसक्दा पनि आजको दिनसम्म उक्त घटनाको अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन । बलात्कार भयो, बलात्कार पश्चात हत्या भयो, घटनास्थलमा प्रहरी पुग्यो, प्रहरीले प्रमाण जोगानुको सट्टा उल्टै मेटाउने काम गरेको आभास भयो । गोंगंबु हत्याकाण्ड भएको चौबीस घण्टा नबित्दै दोषी समात्न सक्ने प्रहरी निर्मला हत्याकाण्डमा कहाँ र कसरी चुक्यो त्यो रहस्यको गर्भगृहमै छ । यो घटनामा कस्को संलग्नता थियो र आजको दिनसम्म किन प्रहरीले निर्मलालाई न्याय दिन सकेन भन्नेबारे कुनै पनि खुलासा भएको छैन।
घटना पछि सरकारले, प्रहरीले निर्मला र उनका परिवारलाई न्याय दिन नसके पछि लामो समयसम्म सरकारसमक्ष आवाज उठेको थियो तर, अहिलेसम्म घटनामा संलग्न अपराधी पक्राउ पर्न सकेका छैनन्।
अहिले फेरी सामाजिक सञजालमा यो मुद्दा चर्चामा आएको छ। सामाजिक सञ्जालमा नेपाल सरकारको सत्ता पक्षकै नेताहरुसहित विभिन्न सरकारी संस्थाहरुको सामाजिक सञ्जाल फेसबुक पेजमा निर्मला पन्तको लागि न्याय भन्ने आवाज उठिररहेको छ।
नेपाल प्रहरी, प्रधानमन्त्री केपी शर्मा ओली, र सामाजिक संजालका ग्रुपहरुमा निर्मलाका लागि न्याय माग गर्दै प्रयोगकर्ताहरुले पोष्टरसहित प्रयोगकर्ताहरुले #JusticeforNirmalaPanta लेख्दै कमेन्ट गरिरहेका छन्।
गृह मन्त्री रामबहादुर थापा बादलको फेसबुक पेजमा पनि यस्तै कमेन्ट लगातार भइरहेको छ। दुई वर्षअघिको बादलको तस्बिरमा अहिले फेसबुकका प्रयोगकर्ताहरुले लगातार कमेन्ट गरिरहेका छन्।
अन्तर्राष्ट्रिय संस्था संयुक्त राज्य ९युएन०अन्तर्गतको एक संस्था युएन वुमनको फेसबुक पेजमा पनि निर्मलाका लागि न्याय भन्दै कमेन्ट भइरहेको छ।
अर्कातिर, नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको फेसबुकमा पनि निजगढ विमानस्थललाई लिएर कमेन्ट गरिएका छन् निजगढ विमानस्थलको निर्माण रोक्नुपर्ने भन्दै फेसबुक प्रयोगकर्ताहरुले उनको पेजमा लगातार कमेन्ट गरिरहेका छन्।