भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेल चार दशक लामो सरकारी सेवापछि सेवा निवृत्त भएका छन्। विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत ५८ वर्षीय सञ्जेलले उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन्।
निजामती सेवाबाट सेवानिवृत्त भएका उपसचिव प्रेमप्रसाद सञ्जेल जाँदाजाँदै सरकारी कर्मचारी भ्रष्ट हुने खुलासा गरेका छन् ।
असार १५ गते सेवा निवृत्त बनेका सञ्जेल घुस र भ्रष्टाचारका विषयसँगै राजनीतिक दलका नेताविरुद्ध खुलेरै आलोचना गर्ने सरकारी कर्मचारीका रुपमा चिनिएका छन्।
दलका नेता तथा कर्मचारीविरुद्ध पनि कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेल यसअघि श्रम कार्यालयमा हाजिर भएर काम गर्न थालेको तीन महिना नपुग्दै सरुवाको तालिकामा परेका थिए। यद्यपि त्यसको विरुद्धमा उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चको आदेशबाट पुनः काममा फर्किएका उनले दुई वर्षभन्दा बढी समय श्रम तथा रोजगार कार्यालयमा सेवा गर्दै सोही कार्यालयबाट सेवा निवृत्त भएका हुन्।
२०३९ साल फागुन ३ गते खरिदारबाट निजामती सेवा प्रवेश गरेका सञ्जेल २०४६ साल असार २७ गते नायब सुब्बमा बढुवा भएका थिए। २०५४ साल कात्तिक १२ गते शाखा अधिकृत भएका सञ्जेल २०६६ साल कात्तिक २९ गते उप–सचिवमा बढुवा भएका थिन्।
सेवा निवृत्त भएका सञ्जेल भ्रष्टचारविरुद्ध अभियान चलाए पनि मुलुकको अवस्थामा सुधार नआउँदा दुःख लागेको बताँउछन्। दुई वर्षको अवधिमा उनले भ्रष्टाचार गर्ने र सेवाग्राहीसँग घुस माग्ने श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत १९ जना कर्मचारीलाई सेवाबाट विमुख गराएका थिए।
सरकारी सेवाका क्रममा कडा स्वाभावका सञ्जेलले २०६३/०६४ मा पशु सेवा विभागमा कार्यरत रहँदा अनुदानको रकममा भ्रष्टाचार देखिएपछि २३ जना स्थायी कर्मचारीलाई जागिरबाट निकालेको बताउँछन्।
उनी भन्छन्, ‘सो घटनापछि मलाई सरुवा गरियो। तर, सर्वोच्चमा मुद्दा लडेर १९ महिना विभागमै रहन सफल भएँ।’