अखबारपत्र:काठमाडौँ, मङ्सिर २६ ।‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगितामा नेपाली सेफ सन्तोष साह फाइनल राउण्डमा प्रवेश गरेका छन् ।
‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका हुन् ।
यसका साथै उनले निर्णायकहरुको अनुरोधमा चिकन चिल्ली, हट एण्ड सावर सुप, क्रिस्पी नूडल्स लगायतका इन्डो चाइनिज परिकारहरु पनि पस्किएका थिए ।
बिहीबार ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष सिधै फाइनल राउन्ड पुग्न सफल भएका थिए ।
अन्य ३ प्रतियोगीबीच फेरि प्रतिस्पर्धा गराएर थप २ जनालाई फाइनलमा लगिएको छ । फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदै छ ।
नेपाली खानालाई विश्वसामू पुर्याउने लक्ष्य लिएर अघि बढेका सन्तोषले यस अघि विभिन्न नेपाली परिकारहरु टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन् ।
सिरहाको कर्जन्हा स्थायी ठेगाना भएका उनी २ दशकअघि एसएलसी फेल भएपछि १५ वर्षको कलिलो उमेरमै भारत पुगेर भाँडा माझ्ने काम गर्दै पाँचतारे होटलको एक्जुकेटिभ सेफसम्म बन्न सफल भए । सन् २०१० अन्त्यतिर वर्क पर्मिटमा बेलायत गएको एक दशक नबित्दै सन्तोष सफलताको शिखरमा पुगे । उनी बेलायतमा निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफसम्म भएका छन्।
आगामी फाईनलमा सन्तोषले कस्तो नतिजा प्राप्त गर्नेछन् त्यो त हेर्न बाँकी नै छ, तैपनि नेपाली खान लिएर अहिलेको अवस्थामा पुग्नु नेपाल र नेपालीकै गौरवको विषय हो ।