खबारपत्रः काठमाण्डौ, असोज १२। खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ ।
लिमिटेडले थापाथली विक्री कक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई विक्रीवितरण गर्न सुरू गरेपछि किन्ने उपभोक्ताको भिड लागेको हो ।
सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज विक्री गर्न थालेको हो। खाद्यले गत शुक्रबारदेखि प्याज बेच्न सुरू गरेको हो।
प्याज किन्नको लागि बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म समय तोकिएको छ। एक जनाले तीन किलोसम्म किन्न पाउने खाद्यले जनाएको छ। प्याज किन्नको लागि सर्वसाधारणको लाइन लागेको छ।
केही दिनअघि उपत्यकामा प्याजको मूल्य १२० रूपैयाँसम्म पुगेको थियो। प्याजको भाउ चर्को रूपमा बढेपछि सरकारले अनुगमन गर्न सुरू गरेको थियो।
सरकारी कम्पनीबाट प्याज खरिद गर्दा उपभोक्ताले बजार मूल्यको तुलनामा दुई सय चालिस रुपैयाँ बचत गर्छन् । यसअघि बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो। सोही प्याज सहुलियत मूल्यमा बिक्री गरिएको हो ।