नेपालमा मनसुन अझै लम्बिने




नेपालमा मनसुन अझै लम्बिने

काठमाडौं असोज ८ । नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ।

यस वर्षको मनसुन भने अहिलेसम्म सक्रिय छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने संकेत देखिएको छ। यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनका अनुसार ‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ,’।
मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ।
अहिले पनि मनसुन सक्रिय रही सामान्य वर्षा भइरहेकाले मनसुन अझै हप्ता १० दिनसम्म कायम रहने सङ्केत देखिएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेल बताउँछिन्।
यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
हाल नेपालमा अरब सागर र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको महाशाखाले जनाएको छ।

आगामी मंगलबारसम्म देशभरका मौसम सामान्य बदली रहने र पूर्व र मध्यका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ।


प्रतिक्रिया