‘साक्षर नेपाल अभियान’ सफल बनाउन प्रधानमन्त्री ओलीको आग्रह




‘साक्षर नेपाल अभियान’ सफल बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अखबारपत्र, काठमाडौं, भदौ २३। प्रधानमन्त्री केपी शर्मा ओलीले सवै मिलेर साक्षर नेपाल अभिया सफल पार्न आग्रह गरेका छन् । ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीमा शुभकामनाव्यक्त गर्दै प्रधानमन्त्री ओलीले निरक्षर नेपालीलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेकाले अभियान सफल पार्न आग्रह गरेका हुन् ।

‘हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन् । आगामी दिनहरुमा वाँकी रहेका जिल्लाहरुको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस अवसरमा मेरो आग्रह छ– हामी सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौँ, ’प्रधानमन्त्रीले मंगलबार जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

उनले हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेकाले संवैधानिक सुनिश्चिततालाई सरकारले कार्यान्वयन गरेको उल्लेख गरेका छन् ।

नेपालको संविधान, २०७२ को अनुसूची ८ मा अनौपचारिक शिक्षा साक्षरता लगायतका विद्यालय शिक्षाको व्यवस्थापनको विषय स्थानीय तहको अधिकारक्षेत्र अन्तर्गत समावेश गरिएको छ । यस अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा आधारभूत र माध्यमिक शिक्षा लगायत अनौपचारिक खुला तथा वैकल्पिक निरन्तर सिकाइ, विशेष शिक्षा र समुदायमा सञ्चालन हुने सिकाइका कार्यक्रम सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन मूल्याङ्कन नियमन लगायतका कार्यहरु स्थानीय तहले गर्नेगरी तोकिएको छ । यसलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्रीले सम्बद्ध सबै तहहरुलाई आह्वान गरेका छन् ।

नेपाल सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको छ । यसका लागि सरकारले साक्षर नेपाल वर्षको अवधारणा पत्र २०७६ स्वीकृत गरेको छ ।

मुलुकलाई अविकासबाट विकासतिर, बिपन्नताबाट सम्पन्नतातिर, आंशिक साक्षरताबाट पूर्ण साक्षरतातिर अग्रसर गराइरहेका भन्दै प्रधानमन्त्रीले यसै मार्फत सम्मृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांङ्क्षा पूरा गर्ने हाम्रो संकल्प भएको बताएका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले संसारसँगै हामी पनि कोभिड–१९ र त्यसबाट उत्पन्न मानवीय क्षति ब्यहोरिरहेको तथा जनता र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा यसले पु¥याएको क्षतिबाट माथि उठ्ने चुनौतिकाबीच दीगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको लक्ष्य हासिल गर्न कामको रफ्तार बृद्धि गर्नु पर्ने जनाएका छन् ।


प्रतिक्रिया