दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन- उपत्यकाका सीडीओको राय




दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन- उपत्यकाका सीडीओको राय

अखबारपत्र

काठमाडौं, भाद्र  २२ । काठमाडौं उपत्यकामा चैत्र ११ गते देखि लकडाउनबाट शुरु भएर निषेधाज्ञासम्म आइपुग्दा कहिले खुल्छ भनेर अझै यकिन गर्न सक्ने अवस्था रहेको छैन । कोरोना संक्रमित मृतकको संख्या बढिरहेको छ ।
यससँगै तीन वटै जिल्ला प्रमुख अधिकारीरूले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन्। प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाहेर वा नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको अवस्था छ नाका नै ठप्प पार्न सकिने अवस्था पनि छैन ।
त्यसलाई कडाइ गर्न उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने आवश्यकता देखियो,’ बैठकमा धारणा राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले भने ।
उनले काठमाडौंका लागि आवश्यक पर्ने ग्याँस, खाद्यान्नलगायतका सामान बाहिरबाट आउने हुँदा नाका ठप्प पार्न नसकिएको स्विकार गरे । दाहालले डीडीएमसीबाट सेना परिचालनबारे निर्णय गरेर पठाइएको तर सीसीएमसीमा त्यो कुराको सुनुवाइ नभएको हो कि भन्दै गुनासोसमेत गरे ।

बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरूबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले चाडपर्वको समयमा मानिसको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।


प्रतिक्रिया