साउथ इन्डियन अर्थात दक्षिण भारतिय चलचित्रमा प्राय देखिने एउटा अनुहार जो अत्यन्त चर्चित छन । दक्षिण भारतिय फिल्ममा उनको उपस्थिति बिना कथा अपुरो अधुरो र खल्लो लाग्ने गर्छ ति चर्चित हाँस्य कलाकारको नाम हो ब्रह्मानन्दम ।
दक्षिण भारतिय चलचित्र उद्योगका उनी एक यस्ता कलाकार हुन्, जो बिना चलचित्र हेर्नुको मज्जा नै नआउने दर्शकहरु बताउछन् र प्राय हरेक चलचित्रमा उनलाई सानै रोलमा भएपनि समावेश गरिएको हुन्छ ।
ब्रह्मानन्दमले गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा सबैभन्दा धेरै फिल्म खेल्ने कलाकारको पहिचान बनाएका छन ।
१ फेब्रअरी १९५६ मा आन्ध्रप्रदेशको गुन्टूर जिल्लामा जन्मिएका उनलाई साउथका ‘कमेडी किंग’ भन्ने गरिन्छ । उनले आफ्नो करिअरमा १६ सयभन्दा धेरै फिल्म गरेका छन् । उनले बलिउड फिल्म समेत गरेका छन् ।
उनको पहिलो फिल्म सन् १९८६ मा ‘चुत्तालाबबाई‘ प्रदर्शनमा आएको थियो आफ्नो करियर सुरु गरेदेखि अधिकांश दक्षिण भारतीय चलचित्रमा काम गरिरहेका छन् । उनी एक चलचित्रको लागि एक करोड रूपैयाँ भन्दा बढि पारिश्रमिक लिन्छन् भने २४ घण्टामा पाँच लाख रूपैयाँ कमाउँछन् ।
अभिनयमा निपूर्ण मानिने उनको प्रारभिक शिक्षा सातेनापल्ली जिल्लाको मुपलला गाउँमा भएको थियो । उनको परिवारको आर्थिक स्थिति राम्रो थिएन । तर पनि उनले आफ्नो शिक्षा छाडेनन् र पोस्ट ग्रेजुएशन पूरा गरे ।
तर धेरैलाई थाहा नहुन सक्छ कि उनी पहिले शिक्षक थिए र विद्यार्थीलाई पढाउँथे भनेर। पोस्ट ग्रेजुएशन गरेपछि एक कलेजमा उनी तेलुगू लेक्चररको रुपमा काम गरे ।अभिनयमा रुचि राख्ने उनी शिक्षण पेशालाई त्यागेर चलचित्र क्षेत्रमा लागेका थिए।
उनी कलेजमा लेक्चररसँगै आफ्ना विद्यार्थीहरुलाई कमेडी गर्न र मिमिक्री गर्न पनि सिकाउने गर्दथे । र, कलेजमा कुनै विशेष कार्यक्रम भयो भने उनी मिमिक्री गरेर सबैलाई हँसाउने गर्दथे । ब्रह्मानन्दमकी पत्नीको नाम लक्ष्मी हो । उनीहरुको दुई सन्तान छन् । एकको नाम राज र दोस्रोको नाम सिद्धार्थ हो । उनीहरुको दुवै सन्तानको विवाह भैसकेको छ भने सबै एकसाथ बस्ने गर्दछन् ।
खासमा उनी कमेडियन हुन् तर उनले पाउने पारिश्रमिक भनेको कुनै सुपरस्टारभन्दा कम हुदैन । उनी साउथ इण्डियामा सबैभन्दा बढी कमाउने अभिनेताको सूचीमा पर्छन्। उनको पारिश्रमिक नै थुप्रै सुपरस्टारहरुको भन्दा बढी हुने गरेको छ।
ब्रह्मानन्दमले हालै भगवान तिरुपति बालाजीको अत्यन्त सुन्दर स्केच बनाएर अल्लु अर्जुनलाई उपहारदिएको समाचार पनि आएको थियो ।
उनको योगदानको कदर गर्दै भारत सरकारले सन् २००९ मा उनलाई पद्मश्री अवार्ड प्रदान गरेको थियो। यसका साथै फिल्मफेयर अवार्ड, नन्दी अवार्ड, ६ सिनेमा अवार्ड तथा बेस्ट कमेडीको लागि साउथ इण्डियन इन्टरनेश्नल मुभी अवार्डसमेत उनले पाएका छन्।
चलचित्रको पर्दाका साथै चर्चित दक्षिण भारतीय कमेडि शो द ग्रेट तेलुगु लाफ्टर च्यालेन्जमा समेत उनी निर्णायकको भुमिकामा समेत देखिसकेका छन् ।
तर ६५ वर्ष उमेर पुगेका उनी विस्तारै नयाँ चलचित्रहरुमा कम देखिन थालेका छन् । सन २००९ तिर औसत ४० चलचित्रमा देखिएका उनी २०१५ मा २२ चलचित्रमा देखिएका भने २०१९ मा करिब ८ वटामा चलचित्रमा खुम्चिएका थिए ।
पछिल्लो समय दक्षिण भारतीय चलचित्रहरु हिन्दि, भोजपुरी लगायत अन्य भाषामा समेत डबिगं भएर सार्वजनिक हुन थालेपछि ब्रह्मान्नदमको चर्चा भारतका साथै नेपाल, बंगलादेश, पाकिस्तानका साथै विश्वभर चल्ने गर्दछ ।