एभरेष्ट बैंकको राजधानी काठमाडौंस्थित लाजिम्पाटमा रहेको मुख्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरस संक्रमित भएका छन । कोरोना भाइरसको संक्रमन पुष्टि भएपछि एभरेष्ट बैंकको हेड अफिस तत्कालका लागि सिल गरिएको छ ।
अहिले एभरेस्ट बैंकको मुख्य कार्यालय र एक शाखा दुई दिनका लागि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको हो । एभरेष्ट बैंकको कपिलवस्तु, लुम्विनी शाखाका कर्मचारीलाई पनि कोरोना भाइरस संक्रमण भएको छ ।
बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ ।
शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीको परीक्षण गराउँदा दुई जना कर्मचारीमा पोजिटिभ देखिएको थियो । ती कर्मचारीलाई आइसोलेसनमा पठाइसकिएको छ । आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको हो ।
दुई दिनका लागि लाजिम्पाट स्थित कार्यालय बन्द भएकाले यहाँका ग्राहकले आफूलाई पायक पर्ने अर्को शाखाबाट सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।