कांग्रेसमा नेतृत्व हत्याउन आ–आफ्नै दाउ : कोरोना संकटमा फस्ला महाधिवेशन ?




प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला महाधिवेशन गर्ने चर्चामा होमिएको छ । विद्यमान नेतृत्वले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा भूमिकाविहीन बनाएको आरोपसहित संस्थापनइतर पक्षले आगामी निर्वाचनबाट सभापति शेरबहादुर देउवालाई विस्थापन गर्ने हिसाबले अभियान नै छेडेको देखिन्छ ।

तर कांग्रेसभित्र सभापतिका एकसेएक आकांक्षी देखिएका छन् । संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला सबै सभापतिका आकांक्षी भए पनि मुख भने फोरेका छैनन् ।

यता तेह्रौं महाधिवेशनमा सभापतिको आकांक्षी बनेका कृष्ण सिटौलाको छुट्टै अभियान चलिरहेको छ । आफूले सभापतिमा दाबेदारी प्रस्तुत गर्ने गरी उनले तयारी गरिरहेको उनीनिकट स्रोतले बताउँछ ।

सभापति शेरबहादुर देउवाको दाहिने हात मानिने उपसभापति विमलेन्द्र निधिले केही दिनअघि देउवालाई भेटेरै आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् । संस्थापन पक्षबाट एकल उम्मेदवारी दिएर जित्ने देउवाको अभिलाषामाथि निधिले ‘ब्रेक’ लगाएपछि छुट्टै तरंग पैदा भएको छ ।

कांग्रेसमा दोस्रो पिँढीका नेतालाई महाधिवेशन कसरी लागिरहेको छ त ? यो विषयमा लोकान्तरकर्मी ईश्वर अर्यालले सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य नविन्द्रराज जोशीसँग कुराकानी गरेका छन् । महतले कोभिड १९ का कारण महाधिवेशनको मिति ६ महिना पर घर्किन सक्ने सम्भावना समेत रहेको बताए ।

कांग्रेसको केन्द्रीय समितिले आगामी फागुन ७–१० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । अहिलेसम्म मितिमा पुनर्विचार गर्नुपर्ने कुरा भने उठेको छैन ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश –

कोरोनाका कारण महाधिवेशन सर्न पनि सक्छ : प्रकाशशरण महत, सहमहामन्त्री 

कांग्रेसभित्र महाधिवेशन कत्तिको लागिरहेको छ तपाईं र अन्य नेताहरूलाई ?

– महाधिवेशनको विषयमा कोभिडका कारण केही समस्या थपिएको छ । तर अहिलेसम्म मिति हेरफेर भने भएको छैन । कोभिड नियन्त्रणमा आउन समय लाग्यो अथवा आएन भने के गर्ने भन्ने प्रश्न छँदैछ । सहजै नियन्त्रण गर्न सकिने विषय थियो, सरकारका कारणले अझ बढी विस्तार भएको छ ।

कोभिडका कारण महाधिवेशनको मिति सार्नुपर्ने भयो भने विधानले केही व्यवस्था गरेको छ ? अथवा सभापतिको विशेषाधिकार छ ?

– अर्को ६ महिना बढाउन सकिन्छ । त्यसलाई केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । तर अहिले हामीले त्यसलाई सोचेका छैनौं । क्रियाशील सदस्य गाउँगाउँमा पुगिसकेका छन् । परिस्थिति सहज भयो भने समयमै हुन्छ महाधिवेशन ।

शतप्रतिशत क्रियाशील सदस्य थप्ने कुरा छ, अहिले जताततै निषेधाज्ञा छ, मान्छेको हिँडडुल बन्द गरिएको छ । कसरी सम्भव होला र त्यसलाई समयमै सम्पन्न गर्न ?

– निर्णय भइसक्यो । अब सक्रिय सदस्यताको फारम भर्नुपर्छ । त्यो पनि जिल्ला–जिल्लामा पुगिसकेको छ । एकाध ठाउँमा नपुगेको होला, त्यो पुग्छ ।

महाधिवेशन भनेको नेतृत्वकै छिनाझपटी हो । अहिले पदका आकांक्षी नेताहरू धेरै देखिएका छन् । महाधिवेशनले यसको व्यवस्थापन गर्न सक्ला कि नसक्ला ? कि झन् भाँडोभैलो हुने हो ?

– यसको व्यवस्थापन त निर्वाचनले नै गर्ने हो । अर्को विकल्प त कुनै पनि हालतमा छैन । निर्वाचन पद्धति जसरी स्थापित भएको छ, त्यसले व्यवस्थापन गर्छ सबै । महत्त्वाकांक्षा जतिले पनि राख्न पाए तर अनुमोदन त मतदाताबाटै हुने हो ।

देउवाको नेतृत्व फेलियर भयो र अब नयाँ नेतृत्व आउनुपर्छ भन्ने ढंगबाट इतर पक्षले आफ्नो अभियान शुरू गरेको छ । यसलाई तपाईंहरूले कसरी मूल्यांकन गरिरहनुभएको छ ?

– हामी पार्टीप्रति प्रतिबद्ध मान्छे हौं । अहिले शेरबहादुरजीको नेतृत्वमा पार्टी चलिरहेको छ । नेतृत्वलाई हामीले वा मैले सहयोग गर्नु स्वाभाविक हो । तथापि असफल भयो भन्ने निष्कर्ष गलत हो । किनकि जुन परिस्थितिबाट देश गुज्रेको छ त्यो हामी सबैलाई थाहा छ । निर्वाचनका बेलामा कम्युनिस्ट पार्टीहरू कसरी मिले त्यो पनि हामीलाई थाहा छ । त्यो अवस्थामा पनि पार्टीले ३६ प्रतिशत मत प्राप्त गर्‍यो, जुन ७० सालको भन्दा ज्यादा हो । निर्वाचनमा एउटा पार्टीसँग सहकार्य गरेर जाने विषय पार्टीभित्रै सहमति थिएन । त्यो नभएपछि निर्वाचन जितिदैन्थ्यो त्यो पनि सबैलाई थाहा छ ।

सफलता प्राप्त गर्न सकिएन, विपक्षी दलमा बस्नुपर्‍यो भन्ने कुरा जुन हो, त्यो सभापतिका कारणले मात्र भएको हो कि समग्र परिस्थितिका कारण भएको हो त्यो बुझ्नुपर्छ । देउवाको ठाउँमा अर्को नेता हुँदा परिस्थिति अलग हुन सक्दैन थियो । तै पनि यी कुराहरू उठेका छन् । किनकि कसैलाई दोष नदिइकन कोही नेता त बन्दैन ।

भनेपछि महाधिवेशन लाग्यो, आरोप–प्रत्यारोप अझ बढ्छ !

– मैले यसलाई अधिवेशन लागेको भन्छु र जहाँसम्म नेतृत्वमा आउँछु भनेर जति पनि पात्रहरू देखापर्नुभएको छ, उहाँहरू समग्र पार्टीको निर्णय प्रक्रियामा सामेल हुनुहुन्छ । त्यसो हुनाले कसरी एउटा व्यक्तिको मात्र असफलता देखियो, त्यो मैले बुझ्न सकेको छैन ।

उहाँले भन्दा अझ म राम्रो गर्न सक्छु भन्न पाइन्छ । तर के–के गरेर राम्रो हुन्छ त्यो चाहिँ कहीँकतैबाट आएको छैन ।

कसैले युवा आउनुपर्छ भन्नुहुन्छ, कसैले पाका नेताहरू नै विकल्प हो भन्नुहुन्छ । तर मुद्दाको के विषयवस्तु हो त ? त्यसमा कोही नबोल्ने । उमेर कम भएकाहरू नेतृत्वमा आए पार्टी रुपान्तरण हुने हो कि या त पाका उमेरका नेताहरूले नै रुपान्तरण गर्ने हो कि ? इस्युमा छलफल हुनुपर्‍यो ।

पार्टीलाई अघि बढाउन के–के महत्त्वपूर्ण विषयहरू छन्, त्यसमा छलफल भएकै छैन । अहिले जो विकल्प भनेर कसैले दोस्रो पिँढी भन्नुहुन्छ, उहाँहरूको उमेर त पहिलो पिँढी जत्तिकै छ ।

तपाईंले आफूलाई उमेर समूह या पिँढीका रूपमा कहाँ राख्नुहुन्छ ?

– वास्तवमा भन्ने हो भने दोस्रो पिँढी त हामीहरू हो । सबैभन्दा सक्षम पिँढी पनि हामी नै हो । २०४६ सालअघिको दुःख पनि भोगेका छौं र त्यसपछि विभिन्न क्षेत्रको नेतृत्व गरेर अनुभव पनि हासिल गरेका छौं । त्यो मेरो पिँढी सबैभन्दा सक्षम छ भन्ने मलाई लाग्छ ।
यो पिँढी चाहिँ अहिले चुप लागेर बसेको छ । हामीभन्दा पछाडिको पिँढी पनि उछ्लकुँद गरिरहेको छ । अगाडिको पिँढी पनि उछ्लकुँद गरिरहेको छ । पार्टीकै नेतृत्वमा बसेर के सार्थक दृष्टिकोण आए, के कामहरू भए त्यो पनि देखाउने कुरा छैन ।

हामी जिम्मेवार पुस्ता हो । दुःख पनि भोगेको र सरकार र पार्टी सञ्चालनको अनुभव पनि भएको पुस्ता भएको नाताले यो समयमा पनि हामी सक्रिय छौं । त्यो जेनेरेसनले बिस्तारै आफ्नो कुरा राख्दै जाला ।

फागुन १० गतेपछि कांग्रेसमा तपाईंको पोजिसन के ? कि तपाईं पनि सभापति नै हो ?

– सबैले आफूलाई सभापति घोषणा गरिसके । हामीले गर्न नहुने के छ र ? तर हाम्रो जेनेरेसन चुप लागेर बसेको छ । पर्ख र हेरमा छ । परिस्थिति आयो भने, हामीले अगाडि उभिनुपर्‍यो भने तयार छौं । यो पिँढीमा आइसकेपछि धेरै योग्य मान्छेहरू छौं । निधिले बोल्नुभएको छ । हामीसँगै केन्द्रीय सदस्य भएका हौं । हामीले पनि बोल्नुपर्ने अवस्था आयो भने बोल्छौं ।

महाधिवेशनमा तपाईले केमा उम्मेवारी दिने सोच बनाउनुभएको छ ? कतै निधि सभापति र तपाईं महामन्त्री बन्ने गरी प्यानल त बन्दैन ?

– म अहिलेभन्दा माथि नै जाने हो । तर निधिजीसँग प्यानल नै बनाउने भन्ने चाहिँ छलफल भएको छैन । कसरी हामी प्रस्तुत हुन्छौं त्यो हेर्दै जाउँ ।

संस्थापनइतर पक्षले ‘देउवाको नेतृत्वलाई कुनै पनि हालतमा स्वीकार्दैनौं’ भनेको स्थिति छ, देउवालाई हराउनैका लागि भनेर लागिपरेको अवस्था पनि छ । यसलाई कसरी मूल्यांकन गर्नुहुन्छ तपाईंहरूले ?

– कुनै हालतमा भन्ने कुरा त्यो मतदाताले निर्णय गर्ने कुरा हो । मतदाताले नेतृत्व आवश्यक छ भन्ने ठान्यो भने कुनै हालतमा भन्न मिल्दैन ।
नचिनेको नेता र नचिनेको कार्यकर्ता कोही छैन । अब मतदाताले निर्णय गरिहाल्छन् नि ! यसरी कुनै पनि हालतमा मान्दिन भन्न पनि पर्दैन, कुनै हालतमा मान्छु भन्न पनि पर्दैन ।

अहिलेको नेतृत्व विस्थापित गर्ने गरी देउवाइतरको टीमबाट १ जना सशक्त उम्मेदवार प्रस्तुत हुन्छ : नविन्द्रराज जोशी, पूर्वमन्त्री 

 

महाधिवेशन कत्तिको लागेको छ तपाईंहरूलाई ? 

– कांग्रेस ३ वटा क्रान्तिको नेतृत्व गर्ने, संविधान दिने पार्टी हो । अहिले कमजोर स्थितिमा रहेको छ, यसमा अवश्य नै पहिलो र प्रमुख जिम्मेवारी नेतृत्वले लिनुपर्छ । त्यसपछि हामीले हाम्रो जिम्मेवारी लिने हो ।

लोकतन्त्रको सम्वर्द्धन र संरक्षणका लागि कांग्रेसमा नयाँ नेतृत्व आवश्यक छ । जनताप्रति उत्तरदायी र जिम्मेवार र जवाफदेही सरकारको आवश्यकता रहेको छ र देशको नेतृत्व गर्ने पार्टी बनेर अघि जानु कांग्रेसको यतिबेलाको आवश्यकता हो ।

आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाएर अघि बढ्नका लागि सो अनुरुपको पार्टी बनाउनुपर्छ । गाउँगाउँ तहदेखि विचारका बहस गरेर नेतृत्व बनाउनका लागि १४ औं महाधिवेशन अत्यन्त महत्त्वपूर्ण भएको छ । जति पनि २०१५ सालमा बीपी कोइरालाले स्थापित गरेको विचार छ, त्यसलाई अहिलेको परिस्थितिमा लागू गर्न देशलाई कांग्रेसफ्को नेतृत्व अपरिहार्य छ ।

नेताहरूबीच कसले कांग्रेसको नेतृत्व गर्ने भन्ने हानथाप त छ नि !

– राजनीति भनेकै नेताहरूले आफूलाई नेतृत्वमा स्थापित गर्ने कुरा त हो नि । यसमा हानाथाप भनौं वा आफूलाई सक्षम प्रमाणित गर्ने कुरा भनौं, त्यो चलिरहन्छ । मैले आफूलाई घोषणा गर्न मात्र बाँकी हो । म नेतृत्व गर्न सक्छु भन्ने विश्वास त छ नि !

देउवालाई अर्कोपटक सभापति हुन विधानले नै छुट दिएको छ, उहाँले १४ औं महाधिवेशनपछिको सभापतिका रूपमा आफूलाई उभ्याएको स्थिति छ । त्यो अवस्था परिवर्तन गर्न सक्नुहुन्छ कि नाईं तपाईंहरूले ?

– मलाई के लाग्छ भने राजनीति भनेको विचार र पार्टी संगठनको प्रभावकारीताबाट र राजनीतिक कार्यक्रमबाट र देशको समग्र घटना भइरहेका छन्, त्यसको क्रिया–प्रतिक्रिया दिने हिसाबले चल्छ । कांग्रेसभित्र यी कुराहरू भएका छन् कि छैनन् ? हाम्रो आत्माको रूपमा रहेको लोकतन्त्रका मूल्य र मान्यताहरू लागू भएका छन् कि छैनन् ? त्यो कुराले धेरै हदसम्म राजनीतिमा असर पर्छ ।

विधि विधानअनुसार पार्टी अघि बढेको छैन । यी सबै विषयहरूलाई पूरा गर्ने नेतृत्व आउनुपर्छ र त्यहीअनुसार आउँछ भन्ने कुरा मलाई विश्वास छ ।

महाधिवेशनका लागि प्यानलहरू त बनिरहेका छन्, बन्छन् । तपाईंको पोजिसन कता हो ?

– म त घोषणा गरेरै भन्छु । तर अहिले घोषणा गर्ने बेला भएको छैन । सबै साथीहरूसँग सल्लाह परामर्श गरेर घोषणा गर्ने हो । पार्टीलाई एकत्रित गराएर, सक्षम नेतृत्व ल्याएर आफूलाई कहाँ राख्ने भनेर घोषणा गर्ने हो । सबैले घोषणा गरेपछि घोषणा गर्न बाँकी रहेको उम्मेदवार हुनु पनि राम्रो हो ।

नेपालमा ६० प्रतिशत जनसंख्या युवाहरूको छ । तर कांग्रेसमा आफूलाई भावी सभापति घोषणा गर्नेहरू प्रायः ७० वर्ष नाघेका र त्यसको हाराहारीमा छन् । यसलाई परिवर्तन गर्ने जिम्मा त फेरि पनि तपाईंहरू युवाकै हो नि !

– कहिलेकाहीँ मलाई त्यस्तो लाग्छ । मलाई म आफू युवाभन्दा पनि दोस्रो सन्ततिका रूपमा लिन्छु । यो युवा त ४० वर्ष उमेरका लाई बनाउनुपर्छ । म २३ वर्षको उमेरमा नेविसंघको महामन्त्री भएको मान्छे हुँ । १७ वर्षको उमेरमा केन्द्रीय सदस्य भएको मान्छे र २८ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको उपमेयर भएको मान्छे ।

हाम्रो अनुभवहरू छन्, हामीसँग त्यो जोश र जाँगर छन् । क्रियाशीलता हुनुपर्‍यो, विचार हुनुपर्‍यो, संगठनप्रति प्रतिबद्ध हुनुपर्‍यो, बलिदान गर्न सक्ने भावना पनि हुनुपर्‍यो र प्रमाणित पनि हुनुपर्‍यो । हिजो कांग्रेसलाई अप्ठ्यारो अवस्थामा कसले कति भूमिका खेल्यो भन्ने पनि हिसाबकिताब हुनुपर्छ ।

युवाहरूलाई आह्वान गरेर सँगै लिएर जाने हो । म कति उमेरको छु भन्दा पनि मेरो क्रियाशीलता र युवाहरूको भावना समेट्न सक्ने क्षमताले अर्थ राख्छ ।

यता सभापति देउवानिकट विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि एउटा तरंग पैदा भएको छ । अनि कृष्ण सिटौलाको आफ्नो अभियान छँदैछ । यतापट्टि ५–६ जना नेताहरू छन् सबै सभापतिका आकांक्षी ! यस्तो अवस्थामा नेतृत्व व्यवस्थापनभन्दा पनि भाडभैलो हुने देखिन्न र कांग्रेसमा ?

– मलाई के लाग्छ भने देउवाइतर टीमको कमिटमेन्ट छ १ जनालाई सर्वसम्मत उम्मेदवार बनाउने । सिटौलाजीको आफ्नै अस्तित्व छ । उहाँले जहाँनेर बढी सहज लाग्छ त्यतै लाग्नुहुन्छ । १३ औं महाधिवेशनमा पनि उहाँले त्यही खालको भूमिका निभाउनुभएको हो । हाम्रो टीमको कमिटमेन्ट यसपटक हामी एक ठाउँमा उभिएर कलेक्टिभ लिडरशीपमा जाने भन्ने नै छ ।

अन्तिममा सभापति देउवा र प्रधानमन्त्री केपी ओलीको अलि घनिष्ठता बाक्लिएको जस्तो देखिन्छ । तपाईंहरूको महाधिवेशनमा सरकारले खेल्न सक्छ पनि भनिन्छ नि ! किनभने यसअघि विभिन्न दलको महाधिवेशनमा तत्कालीन सरकारले विभिन्न प्रभाव पारेर कसैलाई नेतृत्व हत्याउन सहयोग गराएका उदाहरणहरू प्रशस्त छन् ।

– अलिअलि गर्ला तर कांग्रेस लोकतन्त्रमा अनुभवी र परिपक्व छ । सरकार फ्याक्टर त्यति धेरै हाबी नहोला । कांग्रेसको चरित्र र गुण मुख्य रूपमा जे हो त्यसलाई त्यहीअनुरुप रहन दियौं भने हामीलाई बाह्य फ्याक्टरले असर गर्दैन ।

मेरो चिन्ताको विषय के हो भने प्रतिपक्षी दलले सरकारसँग निश्चित सम्बन्ध राख्छ र सरकारका गलत क्रियाकलापका विषयमा सडकदेखि सदनसम्म विरोध गर्छ । प्रतिपक्षी दलको नाताले हामी सशक्त हुनैपर्छ । त्यो रूपमा आफूलाई हामीले प्रस्तुत गर्न सकेका छौं कि छैनौं भन्ने महत्त्वपूर्ण हो । अहिलेको हाम्रो नेतृत्वको त्यसमा प्रभावकारिता देखिएको छैन ।

Newssource:Lokantar
ईश्वर अर्याल

 


प्रतिक्रिया