“हामी फूललाई मन्दिरमा चढाउने अनि कोपिलाको संरक्षण नगर्ने परम्पराका पूजारी हौं।” कोपिला बिनाको फूल कदापि हुन सक्दैन। यसको मतलव युवाबाटै समृद्ध देशको निर्माण हुन्छ भन्ने कटु सत्यलाई हामी सबैले स्वीकार्न आवश्यक छ।इतिहासको पाना पल्टाएर हेर्दा पनि, युवाले देश निमार्णप्रति गरेका योगदान प्रशंसनीय छन् नै।
आजभोलि सामाजिक सञ्जालमा नेतालाई गाली गर्ने अनि राजनीतिप्रति नै वितृष्णा फैलाउने विचारहरू बाक्लिन थालेका छन्। मलाई लाग्छ,यो आजको सुशिक्षित पुस्तालाई सुहाउँने कुरा होइन। भर्खरै, नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल विरुद्ध कान्तिपुर मिडियामा सिन्को पनि नभाचेको भनी लाञ्छना लागेको छ। थाहा छैन, हामीले राजनीतिप्रति हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन कहिले आउँछ ?
मेरो देशमा हिजोसम्म साढै ५ लाख युवा विदेश पलायन हुँदैगर्दा आज ३ लाख २३हजारमा घटेको छ। विश्व युवा सूचाङ्कमा १४५औं स्थानबाट ७७औं स्थानमा छ। नेपाल सरकारको मुख्य अवयवको रूपमा रहेको यस परिषद् सडकबाट आज लाखौं युवाहरुको अन्तस्करणमा बसिसकेको छ। दरिलो जग बनाएर मजबुत घर ठड्याउछु भन्नु उहाँको गल्ती हो या बिना जगको घर ठड्याएर खोक्रे विकासमा पल्किएका हामी कुलीन भनाउदा दोषी ? सक्छौं त सम्मान गरौं, सक्दैनौँ त खुट्टा तान्ने काम नगरौं। मिडियाले पनि सधैं सत्य र तथ्यको आधारमा समाचार बनाऔँ, हचुवाको भरमा हैन। यस्तो प्रपञ्च पनि नरचिओस्, जहाँ आशाको किरण बोकेर उदाएका राष्ट्रसेवक यदाकदा ओझेलमा परून्।
भूकम्पको दरिलो झापडबाट अलतलिएको नेपाल अनि यो महासङ्कटबाट गुज्रिरहदा आजको भोलि नै देश समृद्ध हुन्छ भन्नु त हाम्रो मूख्याईं नै हो। एउटै घरमा सासू र बुहारी टिक्न नसक्ने हाम्रो समाजलाई राजनीतिसँग दाँज्नु त केवल शौचालयलाई मन्दिर मान्नु सराह हो। कट्टु लगाएर पैताला छोप्ने भनेझैं हामी यही कमजोरी कै कारण ओरालो लागेको मृगको तालमा छौँ। गाउँबेसी बाँझो राखेर विदेशिने अनि फेसबुकमा मूल्य बृद्धिको विरोध गर्नु त खोलामा हामफालेर साथीले आत्महत्या नगर्ने सल्लाह दिएन भने जस्तो मात्र हो।शरदको खुला आकाशमा चम्किएको जाज्वल्यमान सूर्यलाई धमिलो पार्न तम्सिएका तुवाँलोरूपी विकृतिलाई निर्मूल पारौँ।
समयका अनन्त एकाइहरू मध्ये यो एकाईमा प्राप्त गरेका चेतनालाई संस्थागत गर्दै सकारात्मक नेतृत्वको लागि जागौं। प्रतिक्रियाको सदैव अपेक्षा गर्दछु।