काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिता कोपा अमेरिकाको उपाधि जितेको छ ।
रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।
सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो ।
२००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।
मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो।
ब्राजिलका रेनान लोडीले राम्रोसँग मार्क गर्न नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए।
पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन।
खेलको ५२ मिनेटमा ब्राजिलका रिचार्लीसनले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए।
५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए।
खेल सकिन एक मिनेट बाँकी छदा मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका खेर फालेका थिए।