काठमाडाैं । दोरम्बा गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको ५४ औं गाउँ कार्यपालिकाको बैठकद्वारा स्वीकृत गरि पाँचौँ गाउँसभामा गाउँपालिकाले नीति तथा कार्यक्रमले कृषि तथा पयर्टन क्षेत्रलाई पहिलाे प्राथमिकतामा राखेकाे छ ।
पालिका अध्यक्ष कमान सिं तामाङ (माेक्तान) ले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र उत्पादित आलुको राष्ट्रियस्तरमा पहिचान कायम गराउनका लागि लोगोसहतिको आलु प्याक गर्न ५०, ३०, १० केजीको बोरा छपाई गरी ५० प्रतिशत अनुदानमा सम्बन्धित कृषकलाई वितरण गरिने उल्लेख गरिएकाे छ ।
अब दाेरम्बाकाे आलु पारखीहरूका लागि नक्कली र सक्कली छुट्याउन सजिलाे हुने र किसानले पनि आफूले दुख गरेर उत्पादन गरेकाे आलु ‘ब्राण्डिङ्ग’ हुने भएपछि वास्तविक मूल्य प्राप्त गर्न सहज हुनेछ । नीतिमा घाेषणा गरे अनुरूप कार्यन्वयनमा आयाे भने उपभाेक्ता र किसान दुवै लाभान्वित हुने देखिन्छ । अब काठमाडाैं उपत्यकालगायत उपभाेक्ताले दाेरम्बाकाे आलु भन्दै अन्यत्रकाे आलु खानुपर्नेछैन ।
पालिकाले कृषिलाई जोड दिँदै केही वडालाई आलु, किबी, र सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्ने र बाली बीमा कार्यक्रमको शुरुवात गर्ने जनाएकाे छ ।
कृषि कार्यको लागि मल बीउ बिजन, टनेल, कृषि औजार उपकरण, विषादी लगायतका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरिने र दोरम्बा गाउँपालिका भित्र उत्पादित कृषि उपजहरुलाई राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नका लागि कृषि महोत्सव सञ्चालन गरि कृषि पर्यटन प्रवद्र्धन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएकाे छ ।
त्यसैगरि नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रलाई पनि प्राथमिकतामा राखेकाे छ । पर्यटन, धार्मिक महत्व रहेका ऐतिहासिक र पुरातात्विक स्थानहरुको संरक्षण, सम्र्वद्धन र व्यवस्थापन कार्यलाई निरन्तरता दिइने तथा नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान तथा उक्त क्षेत्रको विकासको लागि सार्वजनिक निजी साझेदारीको अवधारणालाई निरन्तरता दिईने भनिएकाे छ ।
स्थानीय स्तरमा पर्यटन प्रर्बधनका लागि गाउँपालिकामा सुचीकृत भएका होमस्टे सञ्चालकहरुलाई आधारभूत तालिमको व्यवस्था गरिने, शैलुङ्ग महोत्सवको स्मारकसहितको पार्क निर्माण गर्ने कार्यलाई पूर्णता दिईने बताइएकाे छ ।
त्यस्तै गाउँपालिकाले आगामी शैक्षिक वर्षदेखि कक्षा सातमा ‘हाम्रो दोरम्बा’ विष्यक स्थानीय पाठ्यक्रम तयार गरी शिक्षण सिकाई सञ्चालन गरिने र ‘एक विद्यालयमा एक जनप्रतिनिधि’ भन्ने नाराका साथ विद्यालयमा नियमित अनुगमन तथा सुपरीवेक्षण गर्ने जनाइएकाे छ ।
गाउँसभामा अध्यक्ष मोक्तानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोना विरुद्धको लडाइँसँगै कृषि र पर्यटनमा आत्मनिर्भर भएर स्वरोजगार बनाइने योजना रहेको बताए ।
कार्यक्रमबाट कोराना भाइरसको जोखिमबाट सिर्जित असमान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवाका ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी स्वदेशमै स्वरोजगार तुल्याउनाका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने गाउँ पालिकाका उनले जानकारी दिए ।
newssource:gausahar