अखबारपत्र:रामेछाप, माघ २५ । रामेछाप जिल्लामा पहिलो पटक निर्माण भएको एकीकृत नमूना बस्तीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गरेका छन् । एकीकृत नमुना बस्तीको उद्घाटन गरेसँगै माझी समुदायमा निकै खुशीयाली छाएको छ ।
खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण सम्पन्न एकीकृत नमुना बस्तीको उनले उदघाटन गरेका हुन् । वस्ती उदघाटन गर्दै मुख्यमन्त्री पौडेलले जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास, जनता आवास, खरको छानो मुक्त कार्यक्रम मार्फत काम गरीरहेको बताए । उनले प्रदेश सरकार आवास विहीन नागरिकहरुलाई व्यवस्थित रूपमा समाजमा स्थापित गराउन हरदम लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमुनाबस्ती बन्नेको छ ।बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाको पहलमा रामेछापमा पहिलो नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले एकीकृत पर्यटकीय बस्ती निर्माणसँगै डब्खाका सीमान्कृत माझी समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए । उनले एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरेर आर्थिक उपार्जन गर्न सकिने बताउदै एकीकृत वस्ती विकासको अवधारणलाई आगामी दिनमा जोड दिनुपर्ने बताए । बस्ती निर्माणका लागि गाउँपालिकाले ७५ लाख र बागमती प्रदेश सरकारले डेढ करोड विनियोजन गरेको थियो । खाँडदेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जिल्लामै पहिलो एकीकृत नमूना बस्ती निर्माण हुनु खुसीको विषय भएको बताए । एकीकृत वस्तीमा ४२ वटा घर निर्माण गरिएको छ ।
तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि लकडाउनको कारण काम केही प्रभावित हुँदा निर्माणको समय लम्बिएको थियो । निर्माणाधिन मध्यपहाडी मार्गका कारण सुनकोसी किनारको माझी बस्तीको आर्थिक उन्नतिको आधार तयार हुने विश्वास गाउँपालिकाले लिएको छ ।
खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले नमूना बस्तीलाई माझी संस्कृतिको पर्यटकीय थलोको रुपमा विकास गर्ने योजना रहेको बताए । एकीकृत बस्तीमा हाल ४२ वटा २ कोठे घर निर्माण भएका छन् । बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराएका थिए । बस्तीभित्र ४२ वटा घरहरुका साथै चिल्डेनपार्क, टावर,सभा हल, स्विमिङ पुल लगायतका पूर्वाधार निर्माण हुनेछ । एकीकृत वस्तीमा सामुदायिक भवन, खेल मैदान लगायतका संरचना समेत रहेको छ । गाउँपालिकाले एकीकृत वस्तीलाई होमस्टेको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।