भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गोली प्रहार




भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गोली प्रहार

अखबारपत्र:काठमाडौँ, पुस २१।कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अवैध रुख कटानको प्रयास गर्दा नेपाली नागरिकमाथि भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको छानविनका क्रममा रुख कटानका लागि गएका वेला भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा छर्रा लागेर दोधारा चाँदनी नगरपालिका–१, बलयलबन्द स्याउले टोलका १६ वर्षीय नरेश सुनार घाइते भएका छन् ।

खुट्टामा गोली लागेका सुनारलाई उपचारका लागि सोमबार बेलुका नै महाकाली अस्पताल ल्याइएको थियो । घाइते भएका सुनारले भारतीय बजारबाट सामान किनेर फर्किदा नेपाल–भारत सीमा नजिकै गोली चलेको र आफ्नो खुट्टामा गोली लागेको बताएका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सोमबार साँझ नेपाली नागरिक घाइते हुनेगरी नेपाल–भारत सीमा क्षेत्रमा भएको गोली प्रहारको घटनामा आफ्नो संलग्नता नभएको बताएको छ ।

सुनारको घर र गौरीकोटबीचको दूरी करिब ७ सय मिटर छ । सुनारले बताएअनुसार उनी गौरीकोटबाट सामान किनेर फर्किने क्रममा बाटोमा कसैले एउटा रुख काटेको थियो ।

‘बाटोमा रुख ढलेको थियो । त्यहाँ १०–१५ जना मानिसहरु पनि थिए । उनीहरुले कसैलाई खोजी रहेका थिए,’ महाकाली अस्पतालमा उपचाररत सुनारले स्थानीय सञ्चारकर्मीसँग भनेका छन्, ‘मेरो पछाडिबाट कसैले डन्डाले हान्यो । म त्यहाँ लडे । लडेर उठ्ने बेला गोली चलेको आवाज सुनियो । मेरो त खुट्टामा गोली लागेछ । त्यहाँबाट भागेर आउने क्रममा अंकल (गोकुल चन्द)ले मलाई लिएर आउनुभयो ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी भारतीय वन रक्षकको टोलीसँग पनि बुझ्ने प्रयास भइरहेको बताएका छन।


प्रतिक्रिया