पोखरामा अनेरास्ववियुद्धारा प्रधानमन्त्रीको पुत्ला दहन




पोखरामा अनेरास्ववियुद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

अखबारपत्र,कास्की,पुस ५|प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुतला दहन गरेका छन्।

नेकपाको भ्रातृ संस्था अनेरास्ववियु र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले आइतबार पोखरामा प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै नाराबाजीसहित प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।

पुत्ला जलाएपछि आयोजित विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले प्रधानमन्त्री ओलीले आन्दोलनको आँधी सामना गर्न तयार हुनुपर्ने बताए।

उनीहरुले केपी ओलीकाविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणबद्ध आन्दोलन सुरु भएको बताएका छन्।

जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरुले बताएका छन्। संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने विद्याथीले चेतावनी दिएका छन्।

समाजवादी विद्यार्थी संगठनका नेता रेशम सापकोटाले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भए झैं प्रधानमन्त्री विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भएको बताए।

पृथ्वीनारायण क्याम्पस अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले सबै राजनीतिक दलका विरुद्ध लोकतन्त्रको रक्षका निम्ति आन्दोलन सुरु भएको बताए।

प्रचण्ड–नेपाल समर्थित विद्यार्थीहरुले १ बजे पोखराको महेन्द्रपुलमा आन्दोलनको तयारी गरेका छन्। विद्यार्थीहरुको संयुक्त मोर्चा बनाएर आन्दोलन अगाडि बढ्ने अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले बताएका छन्।


प्रतिक्रिया