प्रदेश २ का मुख्यमन्त्री राउतले भने, ‘संविधान दिवस मनाउने समय आएकै छैन’




प्रदेश २ का मुख्यमन्त्री राउतले भने, ‘संविधान दिवस मनाउने समय आएकै छैन’

जनकपुरधाम, असोज ३। संविधान दिवस देशभर मनाइरहँदा  प्रदेश २ का मुख्यमन्त्री राउतले भने, संविधान दिवस मनाउने समय आएकै छैन । मुख्यमन्त्री राउतका अनुसार प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बस्ने भएको छ ।

सरकारका कर्मचारीले केन्द्रीय सर्कुलरलाई मानेर राष्ट्रिय झण्डा फहराउने र दीपावली मनाउने भए पनि सरकारका प्रतिनिधि भने मौन बस्ने भएका छन् । दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद् बैठकले कुनै कार्यक्रम पनि तय गरेको छैन ।

मुख्यमन्त्री लालबाबु राउतले संविधान ‘सेलिब्रेसन’ गर्ने समय आइनपुगेको बताए । संविधान दिवस मनाउने सन्दर्भमा  मुख्यमन्त्री राउतले संक्षिप्तमा भने, ‘सेलिब्रेसन गर्ने समय नआएकाले प्रदेश सरकारले कुनै कार्यक्रम गर्दैन ।’

संविधान दिवसको अवसर पारेर गत वर्ष असोज २ गते डेंगु रोगबारे जनचेतना फैलाउँदै जनकपुरधामको जिरोमाइल चोकदेखि बसपार्कसम्म सरसफाइ गरिएको थियो । असोज ३ गते बिहान प्रभातफेरी र ४ गते मधेश भवन परिसरभित्र सरसफाइ तथा वृक्षारोपण गरिएको थियो । यद्यपि यी कार्यक्रममा सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले सहभागिता जनाएका थिएनन् ।

ती कार्यक्रम प्रदेश मन्त्रिपरिषद्को बैठकबाटै निर्धारण गरिएको थियो । तर यस पटक मन्त्रिपरिषद् बैठकले पनि कुनै कार्यक्रम निर्धारण गरेको छैन ।

यो प्रदेशका सत्तासिन पार्टी जनता समाजवादी पार्टीका नेतृत्वले संविधान दिवसका दिन शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न नेता-कार्यकर्तालाई आह्वान गरेका छन् । यो आह्वानपछि आज प्रदेश २ का आठ वटै जिल्लामा यो पार्टीका नेता÷कार्यकर्ताहरुले बिरोध प्रदर्शन गर्ने भएका छन् ।


प्रतिक्रिया