अखबारपत्र
काठमाडौं, भदौ २९। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ भिरखर्क र नाकुचेमा गएको पहिरोमा पुरिएका अहिले सम्म १३ जनाको शव भेटिएको छ ।
सोमबार बिहान थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक प्रकाश सापकोटाले बताए । भिरखर्कका २१ वर्षीय सोनिया विक र २२ वर्षीय कुमार विकको सोमबार शव फेला परेको हो। उनीहरूको शव परिवारले बुझिसकेको डिएसपी सापकोटाले बताए।
योसँगै सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरी अझै १८ जना बेपत्ता छन् उनीहरुको खोजीकार्य अहिले पनि जारी रहेको छ।
आइतबार मृत्यु हुनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ६० वर्षीया सर्किनी नेवार, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक र ८ वर्षीय सन्देश विक छन्।
त्यस्तै, ६५ वर्षीय धनलाल नेवार, ६० वर्षीय हिरामाया नेवार, ९८ वर्षीय ल्याक्सी शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, ५ वर्षीया सरस्वती विक र २५ वर्षीय करण बहादुर श्रेष्ठ छन्।
त्यस्तै, डिएसपी सापकोटाका अनुसार ६ जनाको भने आइतबार जीवितै उद्धार गरिएको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ।