रौतहट –हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ का बालकुमार पटेल र रामनरेश पटेल छन् ।
उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा प्रदेश २ को प्रहरीले बिहारबाट नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले बताएको छ । दुवैले अभियोग भने स्वीकार गरेका छैनन् । उनीहरूको बयानका आधारमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यसबारे औपचारिक जानकारी गराएको छैन । घटनामा संलग्न भएको आशंकामा अनुसन्धानको घेरामा रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह र वडा सदस्य राजेन्द्र पटेल पनि हाल फरार छन् ।
उनीहरु जनता समाजवादी पार्टीका तर्फबाट जनप्रतिनिधि हुन् । फरार रहेका राजेन्द्र पटेल सोमबार पक्राउ परेका बालकुमार पटेलका भतिजा हुन् ।
रौतहट, माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको भदौ ३ गते राति खाना खान बसेका बेला अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
हत्या प्रकरणको एक साता वितिसक्दा पनि अनुसन्धानमा प्रहरीले सफलता हात पार्न नसकेको भन्दै नागरिकले विरोध जनाइरहेका थिए ।