नेविसङ्घद्वारा बाढीपहिरो प्रभावितलाई तत्काल क्षतिपूर्तिको व्यवस्था मिलाउन माग
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले देशभर बाढीपहिराबाट मृत्यु भएका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विहीबार विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकको बाह्रबीसे, जुगल गाउँपालिका, बाजुराको बूढीनन्दा नगरपालिका र अछामको रामरोशन गाउँपालिकामा गएको बाढीपहिरामा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेका हुन्।
“बाढी, पहिरो र डुबानका कारण प्रभावित उद्धार र राहत कार्यमा सरकारले तदारुकता देखाई घाइतेको अविलम्ब निःशुल्क उपचारको व्यवस्था मिलाउन नेविसङ्घ माग गर्दछ”, अध्यक्ष ढुङ्गानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेविसङ्घका महामन्त्री दीपक भट्टराईले बाढीपहिराका कारण घरबारविहीन भएकालाई पुनर्वास तथा दीर्घकालीन जीवीकोपार्जनको व्यवस्था मिलाउन आग्रह गरे ।
सरकारको तर्फबाट उद्धार तथा राहत कार्यमा पूर्ण तदारुकता देखाउन महामन्त्री बलदेब तिमल्सिनाले माग गरे ।
सबै तहका नेविसंघका नेता कार्यकर्तालाई विपद्का समयमा उद्धार र राहतमा जुट्नसमेत उनको आह्वान छ ।