भक्तपुरमा क्रियाशील रहेका नेपाल प्रेस युनियनका पत्रकारहरुलाई आज सुरक्षा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाल बिद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमिल्सिनाको सहयोगमा पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री स्यानिटाइजर, सर्जिकल मास्क र पञ्जा बितरण गरेको हो ।
सो कार्यक्रममा बोल्दै महामन्त्री तिमिल्सिनाले देशभरका पत्रकारहरु, नेपाल प्रहरी लगायत अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई नेविसंघले बिभिन्न स्वास्थ्य सामाग्रीहरु बितरण गर्दै आएको बताउदैं विश्वव्यापी कोरोना संकटमा पनि सरकार संबेदनशिल हुन नसकेको बताए ।
सरकार आफ्नो पार्टीको गुटबन्दी र कुर्सीको खेलमा लागेको आरोप लगाउँदै तिमिल्सेनाले यस्तो संकटमा सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए ।
उनले राजनैतिक विकृति विसंगतिको विरोधमा नेपाल बिद्यार्थी संघ लागि परेको बताए ।
युनियनका केन्द्रीय सल्लाहकार एवं वरिष्ठ पत्रकार कविर राणाले कोरोना भाइरस संक्रमण जोखिमको बेला पनि अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारहरुलाई राज्यले उपेक्षा गरेको बताए ।
कार्यक्रम प्रेस युनियन भक्तपुरका सभापति रोशन शिल्पकारको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सुन्दर सिल्पकारले कार्यक्रम सञ्चालन गरेका थिए ।