प्रधानमन्त्रीको अहंकारले लोकतन्त्र नै खतरामा : देउवा




प्रधानमन्त्रीको अहंकारले लोकतन्त्र नै खतरामा : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको भन्दै यसविरुद्ध संघर्षमा उत्रनुपर्ने बताएका छन् ।

बिहीबार विपक्षी दलले गरेको पत्रकार सम्मेलनमा उनले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरिएको बताएका छन् ।

प्रधानमन्त्रीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान नै संकटमा परेको भन्दै देउवाले अध्यादेशमार्फत शासन चलाउने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएको बताए ।

‘कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्’ उनले भनेका छन् ।

प्रधानमन्त्रीले सिर्जना गरेको चुनौती पार गर्न आफूहरु संघर्षमा रहेको भन्दै देउवाले आवश्यक परेमा जनपरिचालनसमेत गर्ने बताए ।


प्रतिक्रिया