बेला–बेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले नीला रंगका अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको हो ।
गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ ।
मन्त्री आलेले डोटी जिल्ला अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेर ती स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटका अनुसार मन्त्री आलेले ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराएका छन् ।
विपतको बेलामा पनि स्वास्थ्य सामग्रीलाई प्रचार सामग्री जसरी प्रयोग गरेको भन्दै मन्त्री आलेको आलोचना भइरहेको छ । कतिपयले चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरमा व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप लगाएका छन् ।