अखबारपत्र:काठमाडौँ,माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित हुने भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार रिङरोडभित्र सार्वजनिक गाडी प्रभावित हुने छ ।
रिङरोडभित्र जुलुसमा सहभागी हुने गाडीबाहेक अन्यले प्रवेश नपाउने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए। घण्टाघर, पुरानोबसपार्कबाट सिंहदरबार आउने मुलबाटोसमेत बन्द गरिएको छ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि मुख्य सडकमा मञ्च बनेकाले त्यो क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको उनले बताए।
११ बजेबाट माइतीघर, लैनचौर, त्रिपुरेश्वर, टेकु, थापाथली, केशरमहल, जमललगायतका विभिन्न क्षेत्रबाट जुलुस निस्किनेछ। जसले गर्दा त्यस क्षेत्रमा सवारी प्रवेश गर्न पाउने छैनन् भने अन्य क्षेत्रमा सवारी चाप बढ्नेछ। ट्राफिक प्रहरीले १० बजे नै ठूला गाडी चक्रपथभित्र प्रवेशमा रोक लगाइसकेको छ।
आज दिनभर चत्रपथभित्रको सडक अवरूद्ध हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले सबैलाई आग्रह गरेको छ।