“विरोधलाई ‘हाइलाइट’ गरेर फोटो छापेको भन्दै सञ्चारमाध्यममाथि खनिए ओली




“विरोधलाई ‘हाइलाइट’ गरेर फोटो छापेको भन्दै सञ्चारमाध्यममाथि खनिए ओली

अखबारपत्र,काठमाडौं,पुस २६| प्रधानमन्त्री केपी शर्मा ओलीले विशाल जनसभाको फोटो नछाप्ने तर विरोधीहरुले गरेको सामान्य विरोधलाई भने ‘हाइलाइट’ गरेर फोटो छापेको भन्दै सञ्चारमाध्यममाथि खनिएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै ओलीले सञ्चारमाध्यमहरुले आफुले गरेका कामको सञ्चारमाध्यमले प्रशंसा नगरेको भन्दै आक्रोश पोखेका हुन् ।

‘विशाल जनसभाको फोटो छापिदैन, तर सरकार विरोधी जमात देखियो भने हाइलाइट गरेर समाचार र फोटो छापिन्छ,’ प्रम ओलीको भनाइ छ ।

त्यसक्रममा उनले प्रचण्ड–माधव पक्षले कामै गर्न नदिएकाले संसद विघटन गर्नुपरेको पनि दोहोर्याए । प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षले प्रायोजित रुपमा सञ्चारमाध्यमहरु परिचालन गरेर सरकारको विरोध गर्न लगाएको टिप्पणी गरे । ‘प्रायोजित र अनेक लगानीका सञ्चारमाध्यम प्रयोग गरेको छ,’ ओलीको भनाइ छ ।

ओलीले सञ्चारमाध्यममात्रै होइन बुद्धिजिवीहरुको पनि आलोचना गरे । उनले भने, ‘केही त्यस्तै खालका बुद्धिजिवीहरुको एउटा झुण्डलाई प्रयोग गरेको छ । र देशलाई अस्थिरता फैलाउने प्रयास भएको छ ।’ उनले यस्तै अस्थिरता सिर्जना गर्ने प्रयासलाई रोक्न प्रतिनिधि सभा विघटन गरेर रोकेको दाबी गरे ।

उनले ताजा जनादेशमा गएर देशलाई स्थिरता र लोकतातन्त्रिक विधि पद्धतिलाई अगाडि बढाउने प्रयासस्वरुप संसद विघटन गर्नुपरेको बताए । उनले कतिपयले आफ्नो कदमलाई गैरजिम्मेवार भन्ने गरेको भन्दै गैरजिम्मेवारको अर्थको शब्द पल्टाएर हेर्न सुझाव दिए ।


प्रतिक्रिया