अखबारपत्र, काठमाडौँ,पौष ७| प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष बनेका माधव कुमार नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टीमा ‘समान हैसियत’ हुने भएको छ।
नेकपाको मंगलबारको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै नेपाल अध्यक्ष बनेका हुन्।
पार्टी अध्यक्षका लागि नेपालको नाम झलनाथ खनालले प्रस्ताव गरेका थिए। खनालको प्रस्तावलाई केन्द्रीय कमिटिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो। एक केन्द्रीय सदस्यका अनुसार प्रभु शाहले भने दुई अध्यक्ष राख्न नहुने तर्क गरेका थिए।
‘नेता प्रभु साहबाहेक सबैले नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन भयो’, ती सदस्यले भने। बैठकमा ४४१ मध्ये ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको नेपाल पक्षले जनाएको छ।
अध्यक्षमा नेपालको नाम पारित भए पनि उनीहरुको हैसियतबारे भने स्पष्ट पारिएको छैन।
केन्द्रीय सदस्य निरज आचार्यले पार्टीको विधानमा दुई अध्यक्ष रहने व्यवस्था अनुसारनै वरिष्ठ नेता नेपाल अध्यक्ष बनेको बताए।
‘पार्टी विधानमा दुई अध्यक्ष रहनेछन् र बैठकको अध्यक्षता दुई जना अध्यक्षले पालैपालो गर्नेछन् भनेको छ,’ उनले भने, ‘विधानमा भएको व्यवस्था अनुरुपनै दुवै अध्यक्ष समान हुन्। कोही वरिष्ठ र कोही कनिष्ठ पनि होइन। कोही कार्यकारी र कोही नकार्यकारी पनि होइन। तर बैठकको अध्यक्षता पालैपालो गर्ने भन्ने हो।’
केन्द्रीय सदस्य रामकुमारी झाक्रीले दुई अध्यक्षको वरियताबारे केही कुरा नभएको र बैठकको अध्यक्षता आलोपालो गर्ने भन्ने भएको बताइन्।
केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले वरियताको बारेमा बैठकमा कुनै छलफल नभएको बताए।
‘केपी ओलीको ठाउँमा भएकाले माधव नेपालनै पहिलो भन्ने होला अथवा पहिला अध्यक्षनै भएकाले प्रचण्ड पहिलो भन्न पनि सकिएला। यसलाई दुवै तरिकाले हेर्न सकिन्छ,’ उनले भने, ‘दुई अध्यक्ष बनाइसकेपछि त्यसको आधार भनेको सुरुको एकता गर्दाको आधार नै हो। त्यो भनेको दुई अध्यक्षको समान हैसियत भनेको हो। पछि मात्रै फरक ब्याख्या गरिएको हो। मेरो बिचारमा समान हैसियतका अध्यक्ष भन्ने नै होला।’
नेकपा एकीकृत रहँदा भने नेता नेपाल चौथो वरियतामा थिए। उनी अघि नेता झलनाथ खनालको वरियता थियाे।
नेपालले तत्कालीन नेकपा (एमाले)लाई पार्टी महासचिव भएर १५ वर्ष नेतृत्व गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी पराजित भएपछि त्यसको नैतिक जिम्मेवारी लिंदै उनलर्म हासचिवको पदबाट राजीनामा दिएका थिए।