अखबारपत्र :तनहुँ, मंसिर १८।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँको बुल्दी खोलास्थित पुलको उद्घाटन गरेका छन् । बुधवार प्रशासनले अबरोध गरेपछि हुन नसकेको तनहुँ ब्यास नगरपालिकामा रहेको बुल्दी खोलाको पुल आज कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन।
प्रशासनले निषेधाज्ञा तोड्न खोजेको भन्दै हिजो पौडेललाई पक्राउ गरेर ३ घन्टा प्रहरी नियन्त्रणमा राखेको थियो । उक्त गिरफ्तारीको चौतर्फी बिरोध भएपश्चात पौडेललाई छाडिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पौडेललाई पुल उद्घाटन गर्नबाट रोकेको थियो,आज सोही स्थानमा पुगी पौडेलले हजारौं तनहुँवासीमाझ पुल उद्घाटन गरेका थिए । त्यस क्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता देखि स्थानीय नेता कार्यकर्ता ठुलो संख्यामा प्रर्दशन गर्दै पुल उद्घाटन समाारोहमा पुगेका थिए ।
व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार दिउँसो १स्३५ बजे पौडेलले उद्घाटन गरेका हुन्। पौडेलले रिवन काटेर पुल उद्घाटन गरेका हुन्।
पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन्। उनीहरूले प्रधानमन्त्री केपी ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए।
उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई प्रदीप पौडेल, शंकर भण्डारी, गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेललगायत नेताहरू पनि सहभागी छन्।