अखबारपत्र :काठमाडौँ, मङ्सिर १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।
ब्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको बिषयलाई लिएर नेपाली कांगरेस र राष्ट्रिय युवासँघबिच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा निषेधाज्ञा लगाएको हो । निषेधाज्ञा तोडेको भन्दै पौडेललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् । ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ पौडेलले लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’
संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए ।
बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले भने पुल उद्घाटनको विरोध गर्दै राष्ट्रिय युवा संघलगायतले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको र झडपको सम्भावना भएको भन्दै पुल क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो ।
बुधबार पौडेल पुल उद्घाटन गर्न कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित पुगेका थिए । तर प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो ।
निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
कांग्रेस कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले लाठीचार्ज र दर्जनौ सेल अश्रुग्यासको सेल हानेको थियो ।
नेता पौडेल, प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको छ । त्यस क्रममा तत्कालिन संविधान सभा सदस्य रामचन्द्र पोखरेललगायतका केही घाइते भएका ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले जानकारी दिए ।