अखबारपत्र:काठमाडौं, मङ्सिर ३ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पनि उपस्थित रहेको छ ।
प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म आजको बैठक सार्न खोजेका थिए। तर बहुमत सचिवालय सदस्यले बैठक गर्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।
यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकले स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय गरेको थियो।
सचिवालय बैठकमा एकतर्फी रूपमा प्रचण्डले प्रतिवेदन पेश गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित बनेका थिए।
प्रधानमन्त्री ओलीनिकट नेताहरूले प्रचण्डले राजनीतिक प्रतिवेदन फिर्ता लिनु पर्ने बताउँदै आएका छन्।
आजै दुई बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । त्यसैले सचिवालय बैठक छोटो समय मात्रै बस्ने तयारी छ । सचिवालय बैठक बस्नुअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आजै शीतल निवास पुगेका थिए ।
सचिवालय बैठक बस्ने समयमै मन्त्रिपरिषद् बैठक बस्ने जानकारी मन्त्रीहरुलाई हिजो साँझ दिइएको थियो । तर, बुधबार विहान प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारेका हुन् ।