अखबारपत्र: काठमाडौँ,कार्त्तिक २४। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । आजका लागि बोलाइएको बैठक कात्तिक २७ गतेसम्मका लागि सारिएको हो। आज सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् । उनका अनुसार बिहीबारको बैठक दिउँसो १ बजे बस्नेछ ।
सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई सहभागी हुन कांग्रेसले आग्रह गरेको छ।
असोजदेखि कांग्रेसले केन्द्रीय समिति बैठक सार्दै आएको छ।
असोज १२ मा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १६ बुँदे विरोध पत्र दर्ता गरेका थिए।
उक्त पत्रबारे पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी रहेर पटकपटक छलफल गरेको कांग्रेसले अब कात्तिक २७ मा हुने बैठकमा सहमतिका लागि प्रस्ताव पेश गर्ने तयारी गरेको छ।
पौडेल पक्षले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेका नेताहरूको समूहलाई समायोजन गर्ने नाममा क्रियाशील सदस्यता ‘मनपरी’ वितरण गरेको आरोप लगाएको छ । प्रक्रिया र विधानविपरीत क्रियाशील सदस्यताको वितरण रोकिनुपर्ने पौडेल पक्षको माग छ । विधान र आचारसंहिताविपरीत विभाग गठन गरी सदस्य मनोनयन गरिएको भन्दै त्यस्तो निर्णय बदर हुनुपर्ने माग पनि पौडेल पक्षले उठाउँदै आएको छ ।
आइतबार सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले विभाग यथावत् राख्दै क्रियशील सदस्यता तथा समायोजन लगायतका एजेन्डामा सहमतिको प्रस्ताव अब बस्ने केन्द्रीय समितिमा पेश गर्ने मौखिक सहमति गरेको छ।
उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आइसोलेसनमा रहेकोले पनि केन्द्रीय समिति बैठक केही दिन सार्नु परेको सहमहामन्त्री प्रकाशशरण महतको भनाइ छ।