नेकपा विवाद उत्कर्षमा ओलीले भने सल्लाहमै पार्टी फुटाऔं




नेकपा विवाद उत्कर्षमा ओलीले भने सल्लाहमै पार्टी फुटाऔं

अखबारपत्र:काठमाडौं,कात्तिक १७। नेकपा विवाद अहिले उत्कर्षमा पुगेको छ । नेकपाका शिर्ष नेताहरुलेनै यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको भन्न थालेका छन । यता ओलीले पनि सल्लाहमै पार्टी फुटाऔं भन्ने प्रस्तावका कारण नेकपाभित्र थप खैलाबैला मच्चिएको छ ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो । सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओलीले एकाएक सल्लाहमै पार्टी फुटाऔ भनेपछि दुई पक्षविच झन दुरी बढेको छ ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान आफूनिकट नेता ईश्वर पोखरेल, पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ र सचिवालयका सल्लाहकारहरूसँग संवाद गरे। शनिबार मात्रै गण्डकी प्रदेश फर्केका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई ओलीले काठमाडौं फर्किन निर्देशन दिएका छन्।

उता, दाहालले बहुमत सचिवालयका सदस्यहरूको भेला आइतबारै खुमलटारमा गरे। छलफलमा गृहमन्त्री रामबहादुर थापासहित ६ जना सहभागी थिए। त्यही क्रममा दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अवगत गराएका हुन्। सधैं किचलो र झैझगडा गरेर एकै पार्टीमा बस्नुभन्दा अलग्गिनु उचित हुने प्रधानमन्त्रीको भनाइ थियो।

‘पार्टी नेताहरूले बैठक राख्न माग गरिरहनुभएको छ। प्रचण्ड कमरेडले प्रधामन्त्रीसँग समसामयिक विवादास्पद विषयमा कुरा प्रस्ट पार्न सचिवालय बैठक बोलाऔं भन्नुभएछ’, खुमलटारमा दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘तर, प्रधानमन्त्रीले बैठक राख्दिनँ भन्नुभएछ। केन्द्रीय कमिटी, स्थायी समिति वा सचिवालय जुनसुकै बैठक राखेर कुनै निर्णय गरे पनि म मान्दिनँ भन्नुभएछ। बरु तपाईंहरूले बैठक बसेर निर्णय गर्नुभयो भने त्यसविरुद्ध एक्सनमा जान्छु भन्नुभएछ। अब यही तरिकाबाट पार्टी कसरी अगाडि जान सक्छ ? यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी चलाएर जाऔं। सल्लाहले नै फुटाऔं भन्नुभएछ।’

दाहालको ब्रिफिङमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र गृहमन्त्री थापा सहभागी थिए। ‘प्रधानमन्त्री अब सँगै जान सकिँदैन मात्रै भन्नुहुन्छ, अब भन्नुस् के गर्ने ?’, दाहालले सचिवालयका सदस्यहरूलाई सोधेका थिए।

प्रत्युत्तरमा बाँकी नेताले एकता कुनै हालतमा भंग हुन दिन नहुने सुझाव दिएका थिए। उक्त भेलाले पार्टी बैठक बोलाउन ओलीमाथि दबाब बढाउने निष्कर्ष निकालेको छ। त्यसका लागि आवश्यक परे सामूहिक रूपमै प्रधानमन्त्रीसँग भेट्ने र कुरा राख्ने तय भएको छ।

 


प्रतिक्रिया