अखबारपत्र, काठमाडौं, कात्तिक ३| चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग मंगलबार नेपालका नेताहरूले भर्चुअल छलफल गर्ने भएका छन्।
फ्रेन्डस् अफ सिल्क रोड नेपालले आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्र मन्त्री प्रकाशशरण महत सहभागी हुनेछन्।
फ्रेन्डस् अफ सिल्क रोड नेपालका महासचिव आनन्द पोखरेलका अनुसार छलफलमा चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) बारे छलफल हुनेछ। नेपालले बिआरआईमा यसअघि नै हस्ताक्षर गरिसकेको छ।
अपरान्ह १२ः ४५ मा सुरू हुने भर्चुअल छलफलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना प्रमुख अतिथि हुने पोखरेलले जानकारी दिए।
उनका अनुसार छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सन्देश पनि पढेर सुनाउने कार्यक्रम छ। छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि पनि सहभागी हुनेछन्।
चिनियाँ तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख र तिब्बतका नेताहरू पनि बोल्ने कार्यक्रम छ। ‘छलफल बिआरआई परियोजनामा नै केन्द्रित हुन्छ,’ पोखरेलले भने।
पूर्व पर्यटनमन्त्रीसमेत रहेका पोखरेल नेकपाका केन्द्रीय सदस्य हुन्।