अखबारपत्र,काठमाडौँ,असोज १९ |डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै जाँदा समेत सरकारले बेवास्ता गरेको भन्दै साझा पार्टीले आपत्ति जनाएको छ। एक विज्ञप्ति जारी गर्दै साझाले सरकारको उदासिनताप्रति चिन्ता प्रकट गरेको छ। केसीले राखेका माग नाजायज छन् भने सरकारले व्याख्या गर्नुपर्ने साझाको माग छ। गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग पुरा गर्न उसले आग्रह गरेको छ।
‘केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरे यताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन्’ साझाले विज्ञप्तिमा भनेको छ ‘तर यिनै दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा. केसी उस्तै माग राखेर फेरि अनसन बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो।’
प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएकै बेला मात्र केसी छ पटक अनशन बसिसकेको साझाले स्मरण गरेको छ। विज्ञप्तिमा भनिएको छ ‘कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस् भनेझैँ सरकारले रवैया प्रस्तुत गरिरहेको छ, के सरकारले केसीलाई मार्नै खोजेको हो?’
डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन विभिन्न जिल्लामा २ सातायता दबाबमूलक प्रदर्शन समेत गर्दै आएको छ।