अखबारपत्र : काठमाडौं, असोज ५। नेपाल विद्यार्थी संघले विज्ञप्ति निकालेर ‘विश्वविद्यालय शैक्षिक तपोभूमि हो, प्रहरीको परेड खेलाउने स्थल हैन भन्दै आपत्ति जनाएको छ ।
‘अध्यक्ष ढुंगानाले निकालेको विज्ञप्तिमा भनिएको छ, त्रिविमा प्रहरी उपस्थित गराई विद्यार्थी र प्राध्यापकहरूलाई आतंकित पार्ने कार्यको भर्त्सना गर्दछौं,’ ।
सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न पनि नेविसंघ अध्यक्ष राजिब ढुंगानाले सोमबार विज्ञप्ति निकालेर आग्रह गरेका छन्।
त्रिविमा उपकुलपतिले नेविसंघ कार्यकर्ता र आफूसँग असहमत प्राध्यापकहरूलाई झुठा मुद्दा लगाएर दुस्ख दिएको पनि नेविसंघको आरोप छ।
नेविसंघले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिए पनि ती माग लत्याउने काम भइरहेको र वार्तासमेत त्रिविले नगरेको नेविसंघको भनाइ छ। वार्ता र संवादबाट त्रिविका सबै समस्याका समाधान खोज्न पनि नेविसंघको माग छ।
नेविसंघ महामन्त्री दीपक भट्टराईले जायज माग राख्दा पनि त्रिविले वार्ता नगरेको बताए।
‘शैक्षिक सुधारका लागि न त्रिविसँग कुनै योजना छ न विद्यार्थीहरूले भनेको मान्छ,’ उनले भने, ‘विद्यार्थीले जायज माग राख्दा झुठा मुद्दा लगाउने? प्राज्ञिक थलोलाई ब्यारेक बनाउने खोज्ने? यो हामीलाई स्वीकार्य हुँदैन।’