“समृद्धिको चहाना र चुनौती” विषयक वेभिनार गोष्ठी सम्पन्न




“समृद्धिको चहाना र चुनौती” विषयक वेभिनार गोष्ठी सम्पन्न

अखबारपत्र,

काठमाडौँ, असोज

नेपाली राजनीतिक इतिहासका सर्वोच्च नेता तथा २०४६ सालको जनआन्दोलनका कमाण्डर लौह पुरुष गणेशमान सिंह लोकतन्त्रवादीहरुको अनन्य प्रेरणाको स्रोत, निष्ठा, त्याग, लगन, प्रतिवद्धता र समर्पणको सगरमाथा हुनुहुन्थ्यो । गान्धीवादी स्वर्गीय नेता गणेशमान सिंहको जन्म २४ कार्तिक १९७२ मा काठमाडौँको येट्खामा भएको थियो । सम्पन्न कुलिन घरपरिवारमा जन्म भएपनि गणेशमान सिंह दुःख, कष्ट र जनताका अधिकारका निम्ति सदैव समर्पित रहनुभयो । गरिबी निवारण गर्ने, भ्रष्टाचार निर्मुल पार्ने, चुस्त दुरुस्त प्रशासन दिने सपना बोकी एकतन्त्रिय जहानिँया निरंकुश राणा शासन तथा पञ्चायती स्वेच्छारिता विरुद्ध प्रजातन्त्र र बहुलवादका निम्ति गणेशमान सधैँ नै आन्दोलनको अग्रपंक्तिमा उभिनुभयो र २०४६ सालको जनआन्दोलन सफल बनाई बहुदलीय व्यवस्थाको पुर्नस्थापना गर्न सफल हुनुभयो । प्रजातन्त्रले नै विकासको जग हाल्दछ र आर्थिक क्रान्तिले नै प्रजातन्त्रलाई जोगाउन सक्दछ भन्ने उँहाको विचार थियो भने लामो समयको राजनीतिक क्रान्ति, लडाँई सफल भएको र अब आर्थिक क्रान्तिमा सबै पक्ष जुट्नुपर्ने उहाँको दृढ संकल्प थियो ।

नँया पुस्ताको चिन्ता गर्ने राजनेता गणेशमानको यो विचार र संकल्प आज पनि उत्तिकै सान्दर्भिक छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि विकास र मानव सुचकांकमा धेरै सकारात्म परिवर्तन भएका छन् तर ती पर्याप्त छैनन् । अझ पनि नेपालीहरुमा समृद्धिको तीब्र चाहाना यथावतै रहेको कुरा सर्वविदितै छ । आज २३ औँ गणेशमान स्मृति दिवसको सन्दर्भमा “समृद्धिको चाहाना र चुनौतीहरु” विषयक वेभिनार विचार गोष्ठी सम्पन्न भएको छ ।

वेभिनारमा नेपाली काग्रेंसका सहमहामन्त्री आदरणीय प्रकाश शरण महत, नेपाली कांग्रेसका केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय (डिना), नेपाली कांगे्रसका नेता माननीय भिमसेनदास प्रधान, नेपाली कांग्रेसका नेता राजेन्द्र कुमार केसी, स्कुल अफ डेमोक्रेसीका अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता नैनसिंह महर, वरिष्ठ अर्थविद् एवम् योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माले मन्तव्य राखेका थिए ।
मन्तव्यका क्रममा नेपाल र नेपालीको आशा अनुरुपको विकास र समृद्धिमा लोकतान्त्रिक प्रणाली र विधिको शासनले मात्र सम्वृद्धि सम्भव छ भन्ने कुरामा सबै नेताहरुले जोड दिएका थिए ।कार्यक्रम स्कुल अफ डेमोक्रेसी काठमाडौले आयोजना गरेको थियो। कार्यक्रममा १०० बढी युवाहरुको सहभागिता रहेको थियो।

 

 


प्रतिक्रिया