प्राधिकरणमा कुलमानको कार्यकाल आज सकिँदै




प्राधिकरणमा कुलमानको कार्यकाल आज सकिँदै

अखबारपत्र

काठमाडौं, भदौ २८। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङको चार वर्षे कार्यकाल आज सकिँदैछ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै निरन्तरता दिन्छौ भनेर मन्त्री वर्षमान पुनले भनेपनि अहिले सम्म पुनः नियुक्तिभएको छैन ।
ऊर्जा मन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्छु भनेपनि मन्त्रालयले घिसिङलाई पुन: नियुक्ति दिने प्रस्ताव मन्त्रिपरिषदमा नपुर्‍याएको स्रोतको दाबी छ।
पुन: नियुक्तिको प्रस्ताव गएको छ/छैन पनि थाहा छैन,’ स्रोतले भन्यो, ‘एक सातादेखि मन्त्रिपरिषद बैठक पनि बसेको थाहा छैन।’
प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार पुनः नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन्।
घिसिङको ४ वर्षे कार्यकाल सकिए पनि हालसम्म उनको बिदाईका लागि गर्नु पर्ने कुनै पनि तयारी गरिएको छैन । हालसम्म बिदाईको लागि कुनै तयारी नभएको घिसिङका प्रेस संयोजक सचिन गौतमले बताए ।
२०७३ साल भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिदै छ । जनताले दैनिक १८ घण्टा सम्म लोडसेडिङ झेल्न वाध्य भएको समयमा घिसिङ कार्यकारी निर्देशकको रुपमा आएको ६ महिनामै उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए ।
उनले प्राधिकरण सम्हालेपछि लोडसेडिङमुक्त गराउनुका साथै घाटामा गएको प्राधिकरणलाई नाफामा लैजान सफल भएकै कारण नागरिकस्तरबाट घिसिङलाई पुन: नियुक्तिका माग जोडदार रुपमा भइरहेका छन्।


प्रतिक्रिया