काठमाडौं उपत्यकामा निषेधाज्ञा आगामी १७ गते सम्मको लागी थपिएको छ । भदौ ३ गतेदेखिको निषेधाज्ञा १० गते सकिँदै गर्दा पुनः १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको छ।
उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै भदौ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यस्तै मंगलबार जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) र काठमाडौंका मेयरहरुबीच भएको छलफलले पनि निषेधाज्ञा बढाउन सुझाव दिएको थियो ।
निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।