कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले गएराति १२ बजेदेखि एक हप्तासम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ।
निषेधाज्ञा कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई सडकका चोक तथा गल्लीहरुमा परिचालन गरिएको छ ।
निषेधाज्ञाको पालना नगर्नेहरुलाई दण्डित गर्ने चेतावनी उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले दिएका छन् ।
तर नयाँ बानेश्वर चोकको विहानको दृष्य भने फरक थियो । त्यहाँ प्रहरीहरुले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई केहीबेर होल्डिङ सेन्टरमा उभ्याएर छाडेका छन् ।
बानेश्वर चोकको सडक किनारमा होल्डिङ सेन्टर बनाइएको छ । जथाभाबी हिँडडुल गर्ने र पासविना सवारी साधन चलाउनेहरुलाई त्यहाँ व्यक्तिगत दुरी कायम राखी केहीबेर उभ्याउने र अबदेखि निषेधाज्ञा पालना गर्ने सर्तमा छाड्ने गरिएको हो ।
निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन बर्जित गरिएको छ । पसलहरु पनि बिहान सात बजेसम्म मात्रै खोल्न दिइएको छ । प्राय भीडभाड हुने काठमाडौंका सडकहरु निषेधाज्ञा जारी भएपछि सुनसान देखिएका छन् ।