तामाकोशी नदीमा बाढीको उच्च जोखिम,नदी किनाराका बासिन्दालाई सतर्क रहन अनुरोध




तामाकोशी नदीमा बाढीको उच्च जोखिम,नदी किनाराका बासिन्दालाई सतर्क रहन अनुरोध

पहिरोले तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले नदी किनाराका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

चीनको तिब्बतमा तामाकोशी नदी थुनिएको हुँदा बाढीको खतरा रहेको भन्दै सुरक्षित र सतर्क रहन जिल्ला प्रशासनले अनुरोध गरेको हो ।

तिब्बतमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोकिँदा तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने जोखिम कायम रहेको छ ।

चीनका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको र पहिरोका कारण धुनिएको नदीको बहाव अहिलेसम्म खुलेको जानकारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ । तामाकोशीमा पनि पानीको बहाव स्थिर छ ।

तर जोखिम कायम रहेकाले सचेत भने रहिरहन स्थानीय प्रशासनले अपील गरेको छ । थुनिएको नदीको बहाव कुनै पनि बेला खुलेर तामाकोशी नदीमा बाढी आउन सक्ने जोखिम छ । कुनै पनि खतराको संकेत पाउना साथ प्रशासनलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्गसीया शहर र त्यसआसपासमा भारी वर्षासँगै पहिरो जाँदा स्थानीय नदीको प्रहार रोकिएको हो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि भारी वर्षाका कारण नदीहरुमा बहाव बढेर बाढी पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अपिल गरेको छ ।

जल तथा मौसम विभागले पनि होसियारी अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ। विभागले सिन्धुपाल्चोकको बाह्रबिसे भोटेकोशी नदीमा जलसतह बढेको जनाएको छ।


प्रतिक्रिया