कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु, उपचारका लागि छैन औषधि




कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु, उपचारका लागि छैन औषधि

कोरोना महामारीबाट ठूलो मानवीय क्षति भइरहेको बेला कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको म्युकर माइकोसिस अर्थात कालो ढुसीको संक्रमणबाट मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

वीरगञ्जमा कालो ढुसीसँग मिल्दोजुल्दो संक्रमण तीन जनाको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । तर परीक्षण नगरिएका कारण पुष्टि हुन सकेन । धनगढीको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा भने कालो ढुसीको संक्रमण पुष्टि भएको थियो ।

कोरोना महामारीका बेला अर्को खालको दुर्लभ रोग देखापर्नुले स्वास्थ्यको क्षेत्रमा अर्को चुनौति थपिएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार करिब एक दर्जनमा कालो ढुसीको संक्रमण पुष्टि भइसकेको छ । जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा डेढ सय जनामा यसको संक्रमण देखा पर्न चेतावनी दिइसकेका छन् ।

शिक्षण अस्पताल, महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले एकाध महिनामा संक्रमण बढेर डेढसयको संख्यामा पुग्ने अनुमान गर्छन् । तर यसको उपचारमा प्रयोग हुने औषधि अभाव छ ।

सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार मौज्दात रहेको औषधि बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको व्यक्तिलाई दिइएको थियो । अब थप संक्रमण आए औषधि छैन । औषधि उपलब्ध गराउन आज बिहीबार मात्र मन्त्रालयलाई पत्राचार गरेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले कालो ढुसीको उपचारमा प्रयोग हुने औषधि अभाव रहेको स्वीकार गर्छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को सिस्टमबाट औषधि ल्याउने प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ ।

आगामी ५ तारिखभित्र यो औषधि नेपाल आइपुग्ने उनले बताए । स्वास्थ्य सेवा विभागलाई १० हजार भाइल उपलब्ध गराउन भनेका उनले बताए । तर डब्लूएचओले फस्ट लटमा ३००० भाइल मात्र उपलब्ध गराउने आश्वासन दिएको उनले बताए ।

एकहजार भाइल कालाजारका बिरामीका लागि नियमित आउने गरेको भन्दै उनले तीन हजार एडिसनलको रुपमा आउँदा तत्कालका लागि राहत मिल्ने उनको तर्क छ । औषधि ल्याउनका लागि उडान पनि नियमित नभएका कारण औषधि आउन ढिलाइ भएको उनले बताए ।

बाँकेको भेरी अस्पतालमा पनि कोभिड–१९ का बिरामीमा कालो ढुसीको संक्रमण भेटिएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए । कालो ढुसीको संक्रमण भेटिए पनि यसको उपचारमा प्रयोग गरिने औषधिको अभाव रहेको उनले बताए । औषधि उपलब्धताका लागि मन्त्रालयमा पत्राचार भइसकेको उनले जानकारी दिए ।


प्रतिक्रिया