वैशाख,७ काठमाडौं । प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगलबार बिहानै मंगल धुन गुन्जिन थाल्यो । एकातिर पूजापाठ पनि चलिरहेको थियो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम-सीताका मूर्ति हस्तान्तरण गर्न धार्मिक अनुष्ठान आयोजना गरिएको छ बालुवाटारमा । मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको उपस्थिति रहेको छ ।
ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर अयोध्याधाममा स्थापना गर्ने कार्यक्रम छ ।
पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा बुधबार (यही वैशाख ८ गते) अनावरण गर्न लागिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा रहेका ती मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गरे । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्याली सहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । भोलिपल्ट चैत ८ गते अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ ।
पुरोहितहरुको सहभागिता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको बागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो ।