अखबारपत्र: काठमाडौँ, पुस २८। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि देश आकारमा सानो ठूलो हुदैमा बडे भाई छोटे भाई भन्न नमिल्ने बताएका छन्। उनले भारत अस्तित्वमा नहुदै नेपाल भन्ने देश रहेको भारतीय मिडिया जी न्यूजको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।
भारत र चीनको आपसी सम्बन्धमा नेपालको भूमिकाबारे सोधिएको प्रश्नमा प्रधानन्त्री ओलीले दुबै छिमेकीसँग नेपालले तथस्टताका साथ सन्तुलित सम्बन्ध कायम राख्ने र राखिरहेको बताए।
उनले भने, ‘छिमेकी परिवर्तन गर्न सकिँदैन। भारत र चीन दुबै आकार र जनसंख्यामा ठूला छन्। असन्तुलनलाई मेटाउनु पर्छ। राजनीतिक रुपमा पनि केही भिन्नता छन्। दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्छौं । नेपालले कुनै कार्ड खेल्दैन। कार्ड खेल्ने र छक्काउने कुरा छोड्नुपर्छ।’
भारतले जम्मू–कश्मीर तथा लद्दाखको विषयमा जारी गरेको नयाँ नक्सामा नेपालको भाग लिपुलेक–लिम्पियाधुरा, कालापानी समेटेकाले समस्या उत्पन्न भएको बताएका छन्।
भारतसँगको सीमा समस्याको सम्बन्धमा प्रधानमन्त्री ओलीले सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस विषयमा हामीले शान्त वातावरणमा, मिहीन ढंगले र प्रमाणका आधारमा कुराकानी गर्नुपर्छ ।’
‘हाम्रो जमिन र आकाश कसैलाई प्रयोग गर्न दिँदैनौँ’ भनेका ओलीले समस्याको समाधान वार्ताबाट हुने र त्यसका लागि काम भइरहेको उल्लेख गरेका छन्।
सुधिर चौधरीले भारतीय प्रधानमन्त्रीलाई ‘ठूलो’ मान्न किन नसक्ने आसयको प्रश्न गर्दा ओलीले, ‘उहाँ उमेरमा म भन्दा केही जेठो हुनु होला तर दुई देशको प्रधानमन्त्रीका रुपमा हामी समान हैसियतका हौँ।’