अखबारपत्र:काठमाडौं, पुस २७ । आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण देशभर याेगदानकाे कदर गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
काठमाण्डौ, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले दिउँसो काठमाण्डौको भृकुटीमण्डपमा विशेष कार्यक्रमको तयारी गरेको छ ।
दिवसका अवसरमा आज २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विभिन्न कार्यक्रम गर्दै छ । दिवसका अवसरमा नेपाली सेनाले पदयात्रा गरेकाे छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडाैंसम्म ओहोरदोहोर गरेका बाटाेमा गत वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ ।
देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् दिनेशराज पन्तले बताउनुभयो।
पृथ्वीनारायण शाहको प्रशंसा र विरोधभन्दा पनि उहाँको योगदान र दिव्योपदेशको मनन गर्नु महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आलोचना समेत हुँदै आएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी नारायण शाहको उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएको उल्लेख गर्नुभएको छ । पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सबै नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।