अखबारपत्र :काठमाडौं, मंसिर ११। सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृती प्रदान गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो ।
भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृती प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो । आर्थिक वर्ष ०७५/०७६ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछी सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गरेको छ । त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आफैले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौ ।
’ सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछी नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।
मन्त्रीपरिषद्बाट स्वीकृती प्रदान भइसकेपछी अब केहीदिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ । सन् २०१९ मा चिनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सँयुक्तरुपमा घोषणा गर्ने सहमती भएको थियो । सोहीबमोजीम नेपाल र चिनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।
यसअघी विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम रहिआएको छ ।