अखबारपत्र:काठमाडौँ, कात्तिक २६। उपत्यका नगरपालिका फोरमले काठमाण्डु उपत्यकामा लकडाउन गर्न सुझाव दिएको छ ।
बुधबार फोरमले कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सिसिएमसिलाई काठमाण्डु उपत्यकामा तिहारलगत्तै लकडाउन गर्न प्रस्ताव गरेको हो ।
पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम-नियन्त्रणको प्रयासका विषयमा छलफल केन्द्रित भएको उपत्यका नगरपालिका फोरमका सचिवसमेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए।
पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ भन्नेलगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौं,’ श्रेष्ठले भने, ‘उपत्यकामा पछिल्लो समय बढी रहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल बढी केन्द्रित भयो।’
उनले तिहार, छठ पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा समेत छलफल भएको जानकारी दिए।
पछिल्लो समय मुलुकभर संक्रमण तथ्याङमध्ये करीब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नुपर्ने धारणा सिसिएमसीबाट उठेको थियो।