अखबारपत्र: काठमाडौं, कात्तिक १९। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
भारतीय वायु सेनाको विशेष विमानमार्फत नरवणे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
चार सदस्यीय टोलीसहित काठमाडौं आइपुगेका नरवणेलाई विमानस्थलमा स्वागत गर्न नेपाली सेनाका दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितको टोली पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नरवणेको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल–भारत सीमा विवाद चर्किएका बेला उनले दिएको प्रतिक्रियाको नेपालमा विरोध भइरहेको छ। त्यसैकारण सुरक्षा चुनौतीलाई ध्यानमा राखेर चारवटै सुरक्षा निकायले विशेष सुरक्षा व्यवस्था गरेका हुन्।
यसअघि भारतीय सेना प्रमुख आउँदा नेपाली सेनाले नै सुरक्षाको जिम्मेवारी लिँदै आएको थियो। उपत्यकाका विभिन्न स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। भने विरोधमा कालो झण्डा देखाउने, प्रदर्शन हुन सक्ने विषयलाई मध्यनजर गर्दै त्यस्ता गतिविधि गर्नेमाथि निगरानी बढाइएको छ।
कालो झन्डा देखाएर नरवणेको विरोध गर्ने अभिव्यक्ति दिएका पुण्य गौतमलाई प्रहरीले बौद्धबाट पक्राउ गरेर नियन्त्रणमा लिएको छ।
भारतीय सेना प्रमुख नरवणेको तीन दिने कार्यतालिका यस्तो छ
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले बुधबार नेपाल आइपुगेका भारतीय सेना प्रमुख नरवणेको आज कुनै औपचारिक कार्यक्रम नरहेको जानकारी दिए।
‘आज उहाँको कुनै औपचारिक कार्यक्रम तय भएको छैन। भोलि र पर्सी मात्रै कार्यक्रम छन्,’ उनले भने, ‘उहाँको भ्रमणलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ।’
धर्मपत्नीसहित आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने बताइएको छ।
नेपाली सेना सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहीबार उनले टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारक श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारतको निरीक्षण गर्ने कार्यक्रम छ।
लगत्तै उनले नेपालका समकक्षी नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग दुईपक्षीय र पारस्परिक भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त अवसरमा नेपाललाई भारतले फिल्ड अस्पताल एम्बुलेन्स सहितका आवश्यक सुरक्षा सामग्रीहरु हस्तान्तरण गर्ने कार्यक्रम छ। त्यसपछि नरवणले जङ्गी अड्डामै उच्च सैनिक अधिकृतहरुसँग केहीबेर अन्तरक्रिया कार्यक्रम गर्ने जनाइएको छ।
बिहानको कार्यक्रम सकिएपछि साँझ शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ। भारतीय सेना प्रमुखको भ्रमणको मुख्य उद्देश्य पनि यही हो। उनले मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ।
त्यसपछि त्यहाँबाट फर्किएर सोझै जङ्गी अड्डामा पुग्नेछन्। त्यहाँ भारतीय सेना प्रमुखको सम्मानमा प्रधानसेनापतिले आयोजना गरेको रात्रि भोजमा सरिक हुने कार्यक्रम छ।
तीन दिने भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले शिवपुरीमा रहेको सैनिक स्टाफ कलेजमा त्यहाँ शिक्षार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने कार्यतालिका छ। त्यसपछि उनले प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर स्वदेश फर्किने कार्यक्रम छ।
यसबीचमा उनले नेपालस्थित भारतीय राजदूतावासको कार्यक्रममा पनि सरिक हुने र त्यहाँ छलफल गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।
नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भने २८ पुस २०७५ मा नै भारत भ्रमण गरेर मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरिसकेका थिए।
भारतीय सेना प्रमुखको नेपाल भ्रमणको कार्यक्रम यसअघि नै तय भइसकेको भए पनि कोरोना भाइरस (कोभिड–१९)का कारणले रोकिएको थियो।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।अनलाइनमिडिया नेपालसमयबाट