अखबारपत्र:काठमाडौं, कार्तिक १९।भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आज बुधबार नेपाल आउँदैछन्।
नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे नेपाल आउन लागेका हुन । नेपाली सेनाको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमण आउन लागेका नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ।
करिब ७० वर्षदेखि नेपाल-भारतीय सेनाबीच मानार्थ महारथी सम्मान आदानप्रदानको कार्यक्रम हुँदै आएको छ। भारत स्वतन्त्र भए देखि नै कार्यक्रम निरन्तर हुँदै आएको हो।
सेनाध्यक्ष नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो। तर, बन्दाबन्दीका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ।
नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहको भेटवार्ता गर्ने भएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।
नरवणेले प्रधानसेनापति थापासँग द्विपक्षीय छलफल गर्नेछन्। नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध चिसिएका बेला दुई मुलुकका सेना प्रमुखको भेट र छलफललाई महत्वका साथ हेरिएको छ। सो अवसरमा नरवणेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने गरी स्वास्थ्य सामग्री र औषधि नेपाली सेनालाई प्रदान गर्नेछन्। उनले कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग छलफलसमेत गर्ने कार्यक्रम छ।
कालपानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादका कारण दुई देशबीच तिक्तता बढिरहेको बेला नरवणेको भ्रमणले दुई देशको राजनीतिक र कूटनीतिक तहमा लागेको ग्रहण केही हदसम्म हट्ने अपेक्षा लिइएको छ ।
नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलनअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लिइसकेका छन ।